काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले ललितपुरको कला, संस्कृति, सम्पदा तथा नेवारी भाषाको संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्ने बताएका छन्।
ललितपुरमा शनिबार आयोजित कार्यक्रममा उनले मठमन्दिर, सम्पदा, संस्कृति र भाषाको संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्न राज्यले आवश्यक कानूनी व्यवस्था गर्नुपर्ने बताए।
सभामुख अर्यालले मुलुक निर्माणमा नेवारी समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै स्थानीय समुदायका समस्या, सुझाव र आवश्यकतालाई कानून निर्माणको तहसम्म पुर्याउन आफूले पहल गर्ने बताए।
उनले अग्रजहरूले छाडेर गएका सम्पदा र संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताए। विशेषगरी ऐतिहासिक सम्पदा, परम्परागत संस्कृति र स्थानीय भाषाको संरक्षणका लागि आवश्यक कानून निर्माणमा आफूले भूमिका निर्वाह गर्ने उनको भनाइ थियो।
स्थानीय समुदायसँग प्रत्यक्ष संवाद गर्न आफू सधैँ तयार रहेको बताउँदै सभामुख अर्यालले जनताका समस्या र सुझावलाई कानून निर्माणको प्रक्रियासँग जोड्ने प्रतिबद्धता व्यक्त गरे।
उनले ललितपुरको नेवारी संस्कृति, सम्पदा र खानाप्रति आफ्नो विशेष रुचि रहेको पनि बताए। संग्रहालय तथा ऐतिहासिक सम्पदाको अवलोकनसँगै नेवारी परिकारको स्वाद लिन ललितपुर महत्वपूर्ण गन्तव्य रहेको उनको भनाइ थियो।










Discussion about this post