रुपन्देही । ठूलो सरकारी लगानीमा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमा रहेको छ। विमानस्थल सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि नियमित उडान हुन नसकेपछि रुपन्देहीका पर्यटन तथा उद्योग व्यवसायीमा पुनः चिन्ता बढेको छ।
विमानस्थललाई केन्द्रमा राखेर होटल, पर्यटन, यातायात तथा अन्य व्यवसायमा ठूलो लगानी गरेका व्यवसायीले नियमित अन्तर्राष्ट्रिय उडानका लागि सरकारसँग निरन्तर पहल गर्दै आएका छन्। तर विभिन्न चरणमा गरिएको आग्रह, छलफल तथा दबाबका बाबजुद अपेक्षित परिणाम आउन नसकेको उनीहरूको गुनासो छ।
करिब ३५ अर्ब रुपैयाँ सरकारी लगानीमा निर्माण भएको विमानस्थल सञ्चालनमा आएपछि निजी क्षेत्रले समेत ठूलो लगानी गरेको छ। नियमित उडान हुने र लुम्बिनीमा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षामा गरिएको लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको पर्यटन व्यवसायी बताउँछन्।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले विमानस्थललाई प्राथमिकतामा राखेर कम्तीमा एउटा अन्तर्राष्ट्रिय वायुसेवाबाट नियमित उडान सञ्चालन गर्न सरकारले पहल गर्नुपर्ने बताए। उनका अनुसार पछिल्लो राजनीतिक परिवर्तनपछि व्यवसायीमा विमानस्थल सञ्चालनबारे नयाँ आशा पलाएको छ।
यसैबीच पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले दैनिक उडान सुरु गरेपछि भैरहवाका व्यवसायीमा पनि गौतम बुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान पुनः सुरु हुने अपेक्षा बढेको छ। पश्चिम नेपालका दुवै अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित हवाई सञ्जालमा जोड्नुपर्ने व्यवसायीको माग छ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म ६९ हजार ३७७ यात्रुले अन्तर्राष्ट्रिय सेवा लिएका छन्। यस अवधिमा १ हजार २२२ वटा सेड्युल तथा चार्टर अन्तर्राष्ट्रिय उडान भएका छन्। ती उडानबाट ३१ हजार ९३२ यात्रु नेपाल आएका छन् भने ३७ हजार ४४५ यात्रु बाहिरिएका छन्।
विमानस्थलका सूचना अधिकारी पवन अग्रहरीका अनुसार पछिल्लोपटक २०२६ मार्च २५ मा थाइ एयर एसियाले बैंकक–भैरहवा र भैरहवा–बैंकक उडान गरेको थियो। त्यसयता कुनै अन्तर्राष्ट्रिय उडान भएको छैन र तत्कालका लागि नयाँ उडान तालिका पनि प्राप्त भएको छैन।
व्यवसायीले विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रुलाई आवश्यक भिसा सेन्टर, नो अब्जेक्सन लेटर, स्वास्थ्य परीक्षण, बिमा तथा म्यानपावरलगायतका सेवा सहज बनाउनुपर्ने मागसमेत गर्दै आएका छन्।
लुम्बिनीको पर्यटन विकास, रोजगारी सिर्जना तथा रुपन्देहीको उद्योग–व्यवसाय विस्तारसँग विमानस्थलको नियमित अन्तर्राष्ट्रिय उडान जोडिएको व्यवसायीको भनाइ छ। त्यसैले तयार पूर्वाधारलाई पूर्ण क्षमतामा उपयोग गर्न अब नियमित उडान सुनिश्चित गर्ने ठोस पहल आवश्यक रहेको उनीहरूले बताएका छन्।










Discussion about this post