काठमाडौं – आउँदो शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा भारी वर्षा तथा केही ठाउँमा अति भारी वर्षा हुनसक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार ४२ जिल्लामा बाढी, पहिरो तथा डुबानको जोखिम उच्च रहेको छ। बंगालको खाडीमा विकसित पानी पार्ने प्रणालीको प्रभाव बुधबारदेखि नेपालमा देखिन सक्ने मौसमविद्हरूले बताएका छन्।
महाशाखाका अनुसार कोशी प्रदेशका इलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बु तथा बागमती प्रदेशका दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, धादिङ र चितवनमा भारी वर्षाको सम्भावना रहेको छ।
त्यस्तै गण्डकी प्रदेशका नवलपरासी पूर्व, तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी र बागलुङ तथा लुम्बिनी प्रदेशका नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा र रुकुम पूर्वमा पनि जोखिम बढी रहेको जनाइएको छ।
कर्णाली प्रदेशका रुकुम पश्चिम, जाजरकोट, डोल्पा, हुम्ला र मुगु तथा सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ र दार्चुलामा समेत भारी वर्षासँगै बाढी र पहिरोको जोखिम उच्च रहेको महाशाखाले जनाएको छ।
सम्भावित भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले नदी, खोला तथा नालाको आसपासमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात र नदी आसपासका निर्माण कार्य प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि तीन दिनसम्म सकेसम्म यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
यता, नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले पाक्न लागेको धानलाई वर्षा र बाढीबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गर्न किसानलाई सुझाव दिएको छ। मौसम सफा भएपछि मात्रै धान काट्न र पाकिसकेको धान काट्नैपर्ने अवस्था भए सुरक्षित स्थानमा भण्डारण गर्न केन्द्रले अनुरोध गरेको छ।










Discussion about this post