काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधान, नियम र लोकतान्त्रिक पद्धतिअनुसार १५औँ महाधिवेशन नियमित प्रक्रियाबाटै सम्पन्न गर्नुपर्ने बताएका छन्।
गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंको शोभाभगवतीमा आयोजित माल्यार्पण कार्यक्रममा उनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै नियमित प्रक्रियाबाट १५औँ महाधिवेशन गर्नुपर्ने धारणा राखे।
सिंहले पार्टीभित्रका अन्य नेताले फरक बाटो रोजे पनि आफूहरू विधि, विधान र लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा अडिग रहने बताए। विधान र नियमविपरीत पद तथा सुविधाका लागि आह्वान गर्न खोजिएको विशेष महाधिवेशन लोकतान्त्रिक अभ्यास नभएको उनको भनाइ थियो।
उनले पार्टीको आन्तरिक विवाद राजनीतिक पद्धति र लोकतान्त्रिक प्रक्रियाबाटै समाधान गर्नुपर्ने बताए। अदालतले कानुनी विषयको निरुपण गर्ने भए पनि राजनीतिक समस्याको समाधान पार्टीभित्रकै लोकतान्त्रिक विधिबाट हुनुपर्नेमा उनले जोड दिए।
जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर गणेशमान सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो।










Discussion about this post