कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउँदै बजेट कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न आवश्यक सबै उपाय अपनाउन निर्देशन दिएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुर्खेतमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशको समग्र विकास र बजेट खर्च बढाउन कर्मचारी प्रशासनले प्रभावकारी र तीव्र गतिमा काम गर्नुपर्ने बताए।
मुख्यमन्त्री कार्यालयकै प्रगति कमजोर भए अन्य क्षेत्रमा समेत अपेक्षित सुधार नआउने भन्दै उनले पुँजीगत खर्च बढाउन देखिएका अवरोध हटाउनुपर्नेमा जोड दिए।
उनले आवश्यकताअनुसार ऐन–नियम संशोधन तथा कर्मचारीलाई तालिमको व्यवस्था गरेर विनियोजित बजेट समयमै पारदर्शी र प्रभावकारी रूपमा खर्च गर्नुपर्ने बताए।
स्थानीय तहसँगको सहकार्य बढाउँदै कर्मचारीको कार्यसम्पादनमा गति ल्याएर वित्तीय प्रगति सुधार गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा प्रमुख सचिव राधिका अर्यालले आर्थिक वर्ष २०८२/८३ को वित्तीय प्रगति सन्तोषजनक नरहेको भन्दै आगामी दिनमा सुधार आवश्यक रहेको बताइन्।
प्रदेश सरकारको वार्षिक प्रगति विवरणअनुसार आव २०८२/८३ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि ६ अर्ब ९ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा असार मसान्तसम्म ३ अर्ब ३७ करोड १६ लाख रुपैयाँ खर्च भएको थियो। यो कुल बजेटको ५५.३१ प्रतिशत हो।










Discussion about this post