काठमाडौं । नेपाल र बंगलादेशबीच आगामी चैतमा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)को सहकार्यमा हुने शृङ्खलाका तीनवटै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछन्।
क्यानका अनुसार पहिलो खेल मार्च २६ अर्थात् चैत १२ गते, दोस्रो खेल मार्च २८ अर्थात् चैत १४ गते र तेस्रो खेल मार्च ३० अर्थात् चैत १६ गते हुनेछ।
टेस्ट राष्ट्रको टोली नेपाल आएर द्विपक्षीय टी–२० शृङ्खला खेल्न लागेको यो पहिलोपटक भएको क्यानले जनाएको छ। यसअघि नेपालले टेस्ट राष्ट्रसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेले पनि ती खेल नेपालबाहिर भएका थिए।
नेपाल र बंगलादेशबीच यसअघि दुई टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन्। सन् २०१४ र २०२४ को टी–२० विश्वकपमा भएका दुवै खेलमा बंगलादेश विजयी भएको थियो।
यसपटकको शृङ्खला नेपालमा आएको विनाशकारी बाढीका क्रममा ज्यान गुमाएकाहरूको स्मृतिमा समर्पित गरिने भएको छ। क्यान र बीसीबीले शृङ्खलामार्फत दुई देशबीचको मित्रता, मानवीय संवेदना र सहकार्यको सन्देश प्रवाह गर्ने जनाएका छन्।
शृङ्खला आयोजनासँगै नेपाल र बंगलादेशबीच क्रिकेट विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत समझदारी भएको छ।










Discussion about this post