काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवाको स्याफ्रुबेँसीसम्म सडक सम्पर्क पुनःस्थापना तथा बेलीब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएका छन्।
प्रभावित क्षेत्रको स्थलगत भ्रमणपछि बिहीबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्दै घिसिङले उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा लिखित र मौखिक सुझाव प्रस्तुत गरेका हुन्।
घिसिङले प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन हेलिकप्टरमा मात्र निर्भर हुनुभन्दा स्याफ्रुबेँसीसम्मको सडक सम्पर्क तत्काल पुनःस्थापना गर्नुपर्नेमा जोड दिए। सडक सम्पर्क अवरुद्ध हुँदा आवश्यक उपकरण तथा राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउन ढिलाइ भइरहेको र हेलिकप्टरमार्फत ढुवानी गर्दा थप कठिनाइ भइरहेको उनले बताए।
उनले बाढी प्रभावित क्षेत्रका बालबालिका, महिला तथा ज्येष्ठ नागरिकको स्वास्थ्य र सामाजिक सुरक्षाका लागि विशेष व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्। साथै, आवश्यक परे प्रभावित बालबालिकालाई काठमाडौं ल्याएर सुरक्षित रूपमा व्यवस्थापन गर्ने विषयमा समेत प्रधानमन्त्रीसँग छलफल भएको उनले जानकारी दिए।
घिसिङले नदी किनारमा मात्र नभई जोखिम मूल्याङ्कन गरेर सुरक्षित स्थानमा सडक तथा अन्य पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए। बाढीबाट क्षतिग्रस्त तथा निर्माणाधीन आयोजनालाई यथाशीघ्र सञ्चालनमा ल्याउन र निजी क्षेत्रले भोगिरहेका समस्याको समाधानका लागि सरकारले विशेष राहत प्याकेज घोषणा गर्नुपर्ने उनको सुझाव छ।
मुलुक संकटमा रहेका बेला राजनीतिक मतभेदभन्दा माथि उठेर सरकारलाई पूर्ण सहयोग गर्न आफ्नो पार्टी तयार रहेको घिसिङले बताए।
भेटका क्रममा प्रधानमन्त्री शाहले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका थिए। प्रधानमन्त्रीसँग अन्य राजनीतिक तथा समसामयिक विषयमा समेत सकारात्मक छलफल भएको घिसिङले जानकारी दिए।










Discussion about this post