काठमाडौं । देशका विभिन्न स्थानमा पछिल्लो समय मध्यमदेखि ठूलो वर्षा भइरहेको छ। हाल कर्णाली प्रदेशका साथै लुम्बिनी र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार राति देशका विभिन्न स्थानमा मध्यमदेखि केही ठाउँमा ठूलो वर्षा भएको छ। पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकमा ६५ दशमलव ६ मिलिमिटर वर्षा मापन गरिएको छ।
यस्तै, रसुवा, पर्वत, स्याङ्जा, कास्की, दोलखा, सङ्खुवासभा र सोलुखुम्बुमा पनि मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। सुदूरपश्चिम, मधेस र कोशी प्रदेशका तराई भूभागमा भने तुलनात्मक रूपमा कम वर्षा भएको छ।
महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्नसक्ने र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सावधानी अपनाउनसमेत आग्रह गरिएको छ।










Discussion about this post