काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि कतार सरकारले राहत सामग्री उपलब्ध गराएको छ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीबाट ठूलो संख्यामा नागरिक प्रभावित भएका छन् भने धेरै परिवार विस्थापित भएका छन्।
नेपालमा आएको विपत्तिप्रति ऐक्यबद्धता जनाउँदै कतार सरकारले प्रभावित नागरिकका लागि आवश्यक अत्यावश्यक राहत सामग्री सहयोग गरेको हो।
नेपालका लागि कतारी राजदूत मिशाल मोहम्मद अल अन्सारीले उक्त राहत सामग्री नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन्।
राहत सामग्रीमा बाढी प्रभावित क्षेत्रमा आवश्यक पर्ने विभिन्न मानवीय सहायता सामग्री समावेश रहेको जनाइएको छ।
कतार सरकारले नेपालमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपत्तिको यस कठिन समयमा नेपाली नागरिकसँग ऐक्यबद्धता जनाउँदै मानवीय सहायता उपलब्ध गराएको हो।
बाढीपछि नेपाललाई विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय निकायबाट राहत तथा मानवीय सहयोग प्राप्त हुँदै आएको छ।










Discussion about this post