ललितपुर । नेपाली कांग्रेसले बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत र उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको बैठकले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता चालिसेले सरकारले राहत तथा उद्धारका कार्यलाई थप प्रभावकारी र तीव्र बनाउनुपर्ने बताए। विशेषगरी सुरुङमा फसेका नागरिकको उद्धारका लागि तत्काल आवश्यक कदम चाल्नुपर्नेमा उनले जोड दिए।
उनले खोज तथा उद्धारका कार्यलाई परिणाममुखी बनाउनुपर्ने बताउँदै आवश्यक परे अन्तर्राष्ट्रियस्तरका विज्ञ तथा प्राविधिकको सहयोग लिन सरकारलाई आग्रह गरे।
प्रवक्ता चालिसेले बाढी तथा पहिरोबाट प्रभावित नागरिकसम्म राहत तत्काल पुर्याउन स्थानीय तहलाई थप जिम्मेवारी दिनुपर्ने बताए। राहत वितरणलाई प्रभावकारी बनाउन स्थानीय तहसँग समन्वय र आवश्यक स्रोतसाधनको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।
रसुवा र नुवाकोटमा बाढीका कारण विभिन्न जिल्लाबाट पर्यटन तथा व्यावसायिक प्रयोजनले पुगेका नागरिकसमेत प्रभावित भएको उल्लेख गर्दै चालिसेले उनीहरूको खोजी, उद्धार र सुरक्षामा पनि विशेष ध्यान दिन सरकारसँग आग्रह गरे।
कांग्रेसले विपद्का बेला प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिने जनाएको छ।










Discussion about this post