काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि औपचारिक रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो २ बजे आयोजना हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार सभापतिबाहेक अन्य सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज शपथ लिनेछन्। नवनिर्वाचित सभापति गगनकुमार थापाले असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन्।
निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार यसपटकको शपथ ग्रहण कार्यक्रम विगतभन्दा फरक ढाँचामा सञ्चालन गरिनेछ। समारोहमा नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै आजै पदबहालीसमेत गराइनेछ।
गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते सार्वजनिक गरिएको थियो। महाधिवेशनको मतदान असोज २३ गते भएको थियो।
यसपटक निर्वाचन प्रक्रिया तुलनात्मक रूपमा छिटो सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। १४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेकोमा यसपटक सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सम्पन्न भएको सदस्य सचिव कटुवालले जानकारी दिएका छन्। उनका अनुसार यसपटक करिब एक लाख ६२ हजार मतपत्र गणना गरिएको थियो।

कुल २२९ पदका लागि भएको निर्वाचनमा ७७ प्रकारका पद रहेका थिए। प्रत्येक मतदाताले २३ वटा मतपत्रमार्फत मतदान गर्नुपर्ने व्यवस्था गरिएको थियो।
महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्। त्यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन्।
महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) निर्वाचित भएका छन्।
शपथ ग्रहण तथा पदबहालीपछि नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि आजै सानेपामा बस्ने तयारी छ। बैठकमा महाधिवेशन सफल बनाउन सहयोग गर्ने प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टीका नेता–कार्यकर्तालाई धन्यवाद दिने विषयमा निर्णय हुने जनाइएको छ।
यसका साथै बैठकमा पार्टीका प्रदेश तथा जिल्ला अधिवेशनका विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन्।










Discussion about this post