कञ्चनपुर । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीपछि नुवाकोट र रसुवाका विभिन्न स्थानमा कार्यरत कञ्चनपुरका १० जना सम्पर्कविहीन भएका छन्। जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरमा टिपाइएको विवरणअनुसार उनीहरू बाढीपछि आफन्तको सम्पर्कमा आउन सकेका छैनन्।
सम्पर्कविहीन हुनेमा कृष्णपुर नगरपालिका–३ र ५ का रिकेश राना, कालु राना र पदम साउँद, कृष्णपुर–४ का हिक्मतबहादुर पाल, वेदकोट–३ का पदम जोशी, बेदकोट–८ आम्थलाका नरेन्द्रप्रसाद भट्ट, भीमदत्त नगरपालिका–१० का प्रेमप्रसाद जोशी, बेलौरी नगरपालिका–३ का रामचन्द्र चौधरी तथा बेलौरी–५ का प्रकाश चौधरी र खुसिराम चौधरी रहेका छन्।
उनीहरूमध्ये केही नुवाकोटस्थित चाईना लिमिटेड तथा अपर त्रिशूली हाइड्रोपावरमा कार्यरत थिए भने केही रसुवास्थित जलविद्युत् आयोजना, नेपाली सेनाको तिमुरे ब्यारेक र नेपाल प्रहरीको तिमुरे चौकीमा कार्यरत रहेको विवरणमा उल्लेख छ।
यसैगरी डडेल्धुराको गन्यापधुरा–१ का सुरजबहादुर महता, बैतडीको सिगास–७ का लक्ष्मण ऐर र कैलालीको लम्कीचुहा–७ का हरिष चन्द पनि बाढीपछि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
भोटेकोशी बाढीका कारण सम्बन्धित क्षेत्रमा ठूलो क्षति भएपछि उनीहरूसँग सम्पर्क हुन नसकेको हो। बाढीका कारण विद्युत् तथा सञ्चार सेवा प्रभावित हुनुका साथै मोबाइल नेटवर्कको समस्याले पनि आफन्तसँग सम्पर्क हुन नसकेको हुनसक्ने जनाइएको छ।
सम्पर्कविहीनहरूको अवस्था यकिन गर्न खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ।










Discussion about this post