पेरिस, फ्रान्स । नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट शिवराम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
९ अगस्ट २०२६ मा पेरिसमा आयोजित अधिवेशन निवर्तमान सभापति सुधीर रानाको सभापतित्व तथा संस्थापक सभापति निर्मल अर्यालको दीप प्रज्वलनबाट उद्घाटन भएको थियो। कार्यक्रममा राष्ट्रिय गानसँगै लोकतान्त्रिक आन्दोलनका ज्ञात–अज्ञात सहिद तथा संस्थापक संरक्षक स्वर्गीय किरणचन्द्र सिंह प्रधानको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो।
केन्द्रीय निर्वाचन प्रतिनिधि ध्रुवराज पौडेलको प्रमुख आतिथ्य तथा केन्द्रीय पर्यवेक्षक अंकील ओलीको विशिष्ट आतिथ्यमा सम्पन्न अधिवेशन निर्वाचन संयोजक सुवर्णविक्रम हमालको संयोजनमा विधानअनुसार निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न भएको जनाइएको छ।
अधिवेशनमा एनआरएनए फ्रान्सका पूर्वमहासचिव तथा जनसम्पर्क समितिका पूर्वमहामन्त्री कमलबिक्रम केसी, एनआरएनए फ्रान्सका पूर्वउपाध्यक्ष चेनभक्त ढुंगाना, वरिष्ठ पत्रकार दीपक चालिसे तथा संस्थापक कोषाध्यक्ष देविजङ्ग गुरुङलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थापक नेतृत्वले प्रवासमा रहेका नेपालीहरूलाई एकताबद्ध गर्न जनसम्पर्क समितिको भूमिका महत्वपूर्ण रहेको बताउँदै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएको थियो।
दुई कार्यकाल नेतृत्व सम्हाल्दै आएका निवर्तमान सभापति सुधीर रानाले नयाँ कार्यसमितिलाई आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नवनिर्वाचित सभापति शिवराम भण्डारीले फ्रान्सस्थित नेपाली समुदायको हकहित, एकता तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि आफ्नो नेतृत्वको टिम सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नयाँ कार्यसमितिको वरिष्ठ उपसभापतिमा कृष्ण गुरुङ, उपसभापतिमा विकास के.सी. र सुजन राज भट्ट, महामन्त्रीमा सुशिल भण्डारी, सहमहामन्त्रीमा विवेक धमला तथा कोषाध्यक्षमा दिपेन्द्र दाहाल चयन हुनुभएको छ।
त्यसैगरी कार्यसमिति सदस्यमा सचिन सेन, सागर गुरुङ र चिरञ्जीवी सापकोटा निर्वाचित हुनुभएको महामन्त्री सुशिल भण्डारीले जानकारी दिनुभयो।
नवनिर्वाचित कार्यसमितिले फ्रान्समा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र सामाजिक सद्भावलाई थप मजबुत बनाउँदै संस्थाको उद्देश्यअनुसार काम गर्ने अपेक्षा गरिएको छ।










Discussion about this post