कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकाको बीसौँ गाउँसभा अधिवेशनअन्तर्गत दोस्रो बैठकले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ४६ करोड ५ लाख ९ हजार बराबरको वार्षिक बजेट तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ । गत आर्थिक वर्षको तुलनामा यो बजेट करिब ४.१२ प्रतिशतले वृद्धि भएको हो ।
गाउँसभा अध्यक्ष निर्मल राना ले बैठक प्रारम्भ भएको घोषणा गर्नुभएको थियो । २०८३ जेठ २९ गते सम्पन्न पहिलो बैठकबाट पारित सिद्धान्त र प्राथमिकताका आधारमा बजेट प्रक्रिया अघि बढाइएको थियो ।
कार्यसूचीअनुसार गाउँकार्यपालिकाकी उपाध्यक्ष सपना चौधरी राना ले वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसपछि सदस्यहरूले विकास प्राथमिकता, स्रोत परिचालन र सेवा प्रवाहबारे सुझाव राखेका थिए ।
गाउँपालिकाले आगामी वर्षका लागि कुल आय रु. ४६ करोड ५ लाख ९ हजार हुने प्रक्षेपण गरेको छ । आयतर्फ संघीय तथा प्रदेश सरकारका अनुदान, राजस्व बाँडफाँड तथा आन्तरिक आय समावेश गरिएको छ । व्ययतर्फ चालु खर्च रु. २५ करोड ७१ लाख ४९ हजार र पूँजीगत खर्च रु. २० करोड ३३ लाख ६० हजार विनियोजन गरिएको छ ।
त्यसैगरी ‘विनियोजन विधेयक, २०८३’ र ‘आर्थिक विधेयक, २०८३’ पनि दफावार छलफलपछि सर्वसम्मतिले पारित गरिएको छ । न्यायिक समितिको वार्षिक प्रतिवेदन पनि सभाबाट स्वीकृत गरिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीका अनुसार आगामी बजेटमा लालझाडीको केरालाई ब्रान्डिङ गर्ने, युवामुखी स्टार्टअप कर्जा कार्यक्रम सञ्चालन गर्ने, अधुरा योजना सम्पन्न गर्ने तथा प्रशासकीय भवन निर्माणलाई तीव्रता दिने कार्यक्रम समावेश छन् ।
यसैबीच, गाउँसभाको अवसरमा उत्कृष्ट स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूलाई सम्मान गरिएको छ । स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीका अनुसार ९ वटै स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मीलाई समेत सम्मान गरिएको छ ।










Discussion about this post