मलेसियामा आजदेखि सुरु भएको एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ। नेपालले आफ्नो पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको हो।
कतारले दिएको ७७ रनको सामान्य लक्ष्य नेपालले १० ओभर ५ बलमै २ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा ओपनर बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन् भने पूजा महतो २८ रनमा अविजित रहिन्। कतारका शाहरीनवाब खान र खादिजा अहमदले समान १–१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कतार १६ ओभर ५ बलमा अलआउट हुँदै ७६ रनमा समेटिएको थियो। कतारका लागि ओपनर गेटरुडे चन्दिरुले सर्वाधिक २५ रन बनाइन्। नेपालका तर्फबाट रुबिना क्षेत्रीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट हात पारिन्।
महिला टी–२० एसिया कपको छनोट प्रतियोगितासमेत रहेको यस प्रतियोगितामा १८ टोली सहभागी छन्। टोलीहरूलाई चार समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह ‘डी’ मा कतार, भुटान र हङकङ छन्।
नेपालले आफ्नो दोस्रो खेल भोलि भुटानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल जेठ २३ गते हङकङसँग खेल्ने तालिका छ। प्रतियोगिताबाट उत्कृष्ट चार टोली आगामी महिला एसिया कपका लागि छनोट हुनेछन्।
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट










Discussion about this post