काठमाडौँ । आजदेखि नेपाल भर दोस्रो आर्थिक गणना सुरु भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यसका लागि देशभर गणक तथा आवश्यक सुपरिवेक्षकहरू सम्बन्धित क्षेत्रमा पुगिसकेका छन्।
कार्यतालिका अनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आउँदो असारको पहिलो हप्ताभित्र सम्पन्न गरिनेछ। यसका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएको छ। अर्थ मन्त्रालय ले देशको समग्र औद्योगिक तथा आर्थिक अवस्थासँग सम्बन्धित महत्त्वपूर्ण तथ्याङ्क सङ्कलन हुने भएकाले सबै सरोकारवालालाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।
यस गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत १८ वटा आर्थिक क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिनेछ। त्यसैगरी देशभर दर्ता भएका तथा नभएका साना–ठूला व्यापार प्रतिष्ठान, स्वरोजगार तथा ठूलो रोजगारी दिएका प्रतिष्ठान, उद्योग(कलकारखाना, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, विद्यालय र अस्पताललगायत सबै क्षेत्र समेटिनेछन्।
आर्थिक गणनाको पूर्वतयारी कार्य गएको फागुन मसान्तमै सम्पन्न भइसकेको छ भने चैतको सुरुमा ७७ जिल्ला र थप सात गरी ८४ वटा कार्यालय स्थापना गरिएका छन्। ती कार्यालयहरू आउँदो असार मसान्तसम्म सञ्चालन हुनेछन्।
यसअघि २०७५ सालमा पहिलो आर्थिक गणना गरिएको थियो, जसमा देशभर ९ लाख २३ हजार ३५६ प्रतिष्ठान तथा व्यवसाय सञ्चालनमा रहेको तथ्य सार्वजनिक भएको थियो।








Discussion about this post