कञ्चनपुर । कञ्चनपुरमा बालविवाह न्यूनीकरण र अन्त्यका लागि सञ्चारकर्मीहरूसंग अन्तरक्रिया गरिएको छ। पेसवानको आयोजना तथा प्लान इन्टरनेशनलको सहयोगमा ‘उत्थानशील भविष्य, बालविवाहको अन्त्य’ परियोजना अन्तर्गत जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूसँग शनिबार छलफल गरिएको हो।
कार्यक्रममा बालविवाहका कारक तत्वहरू, यसले समाजमा पारेको प्रभाव र न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका लगायतको विषयमा छलफल भएको थियो।संस्थाकी अध्यक्ष डा. तिलमाया ढकाल खरेलले बालविवाहलाई समाजको एक गम्भीर समस्याको रूपमा चित्रण गर्नुभयो। उहाँले बालविवाहले बाअलबालिकाको मात्र नभई पूरै घरपरिवारको भविष्य अन्धकार बनाउने उल्लेख गर्दै यसका विरुद्ध जनचेतना फैलाउनु अनिवार्य रहेको बताउनुभयो।अध्यक्ष खरेलले समाजमा सकारात्मक परिवर्तन ल्याउन सञ्चारकर्मीहरूको भूमिका विशेष महत्त्वपूर्ण रहने उल्लेख गर्नुभयो। तथ्यमा आधारित समाचार र सचेतनामूलक सामग्रीमार्फत बालविवाह विरुद्धको अभियानलाई प्रभावकारी बनाउन सकिने भन्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अन्तरक्रियाका सहभागीहरूले गरिबी, लैङ्गिक असमानता, शिक्षाको अभाव, सामाजिक परम्परा र सामाजिक सञ्जालको दुरुपयोगका कारण बालविवाहको जोखिम बढ्दै गएको औँल्याएका थिए। सञ्चारकर्मीहरूले यो विषयमा समाधानमुखी समाचार तयार पार्ने, पीडितमैत्री भाषाको प्रयोग गर्ने, बालविवाह रोकथामका प्रयासहरूलाई उजागर गर्ने र हेल्पलाईन जस्ता सूचनाहरूलाई आम नागरिकसम्म पुर्याउनुपर्ने विषयमा जोड दिएका थिए।
कार्यक्रममा सहभागीले बालविवाहका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा गम्भीर असर परिरहेको भन्दै यसलाई रोक्न सबै सरोकारवाला निकाय एकजुट हुनुपर्ने धारणा राखेका थिए।










Discussion about this post