काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको आरोप लगाउँदै कानुनी लडाइँ लड्ने जनाएको छ। एमालेका सचिव महेश बस्नेतले कुनै ठोस कानुनी आधारबिना प्रतिशोधपूर्ण ढङ्गले ओलीलाई पक्राउ गरिएको दाबी गर्दै यसको कानुनी प्रतिवाद गर्ने बताएका छन्। ‘कुनै कानुनी आधार छैन, प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरिएको छ, हामी यसको कानुनी लगायतका लडाइँ लड्छौँ,’ उनले सञ्चारमाध्यमसँग भने।
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा प्रहरीले शनिबार भक्तपुरको गुण्डुस्थित निवासबाट ओलीलाई पक्राउ गरेको हो। पक्राउअघि प्रहरीले पक्राउ पुर्जी लिएर निवास पुगेपछि ओलीले वरिष्ठ कानुनविद्हरूसँग परामर्श गरेका थिए। सो क्रममा पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँगको छलफलमा ओलीले आफूलाई कानुनी आधारविना नै पक्राउ गर्न लागिएको बताएका थिए।
ओलीसँगको संवाद उद्धृत गर्दै अधिवक्ता भट्टराईले यो घटना राजनीतिक प्रतिशोधपूर्ण भएको दाबी गर्दै यसको कानुनी लडाइँ लड्ने तयारी भइरहेको बताएका छन्। साथै, उनले आइतबार नै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।










Discussion about this post