काठमाडौँ – नेपाली कांग्रेस भित्र चुनावअघि साम्य भएको देखिएको विवाद फेरि सतहमा आएको छ। संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीचको असन्तुष्टि पुनः चर्किँदै जाँदा पार्टीभित्र समानान्तर गतिविधि देखिन थालेका छन्।
ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक जारी रहेका बेला पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहले पुरानो केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेका छन्। उक्त समूहले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै अदालतमा मुद्दा दायर गरिसकेको छ र अन्तिम फैसला नआउन्जेल गतिविधि जारी रहने नेता मीन विश्वकर्मा ले बताउनुभयो। नेता श्याम घिमिरे का अनुसार दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहँदा पार्टी विभाजनको खतरा बढ्दै गएको छ।
उता सानेपामा जारी बैठकले पार्टी सभापति गगन थापाले दिएको राजीनामामाथि छलफल गर्नुका साथै चुनावी हारको समीक्षा गरिरहेको छ। प्रवक्ता देवराज चालिसेका अनुसार अधिकांश केन्द्रीय सदस्यहरू थापाको राजीनामा फिर्ता हुनुपर्ने पक्षमा छन् र बैठकमा राजीनामा अस्वीकृत गर्ने प्रस्तावसमेत प्रस्तुत गरिएको छ। बैठकले प्रतिनिधिसभा निर्वाचनमा कम्तीमा २१ निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोग्नुपरेको निष्कर्ष पनि निकालेको छ।
यसैबीच नेपाल विद्यार्थी सङ्घले माउ पार्टीबाट अलग हुने प्रस्ताव अघि सारेको छ। सङ्घका प्रवक्ता सुरज सेजुवाल का अनुसार केन्द्रीय सिनेट बैठकले संस्थागत सुधार, पुनर्संरचना तथा कार्यगत स्वायत्तता सुनिश्चित गर्दै स्वचालित अधिवेशन प्रणाली लागू गर्ने प्रस्ताव माउ पार्टीसमक्ष राख्ने निर्णय गरेको छ। पार्टीभित्रको आन्तरिक विवाद, समानान्तर गतिविधि र भ्रातृ सङ्गठनको असन्तुष्टिले कांग्रेसभित्र पुनः गम्भीर राजनीतिक संकट देखिएको विश्लेषण गरिएको छ










Discussion about this post