काठमाडौंः आधिकारिक तथ्याङ्कअनुसार अर्थशास्त्रीहरूको स्थिर रहने अपेक्षा विपरित फेब्रुअरी महिनामा अष्ट्रेलियाको बेरोजगारी दर बढेर ४.३ प्रतिशत पुगेको छ। अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले सार्वजनिक गरेको विवरणअनुसार जनवरीमा ४.१ प्रतिशत रहेको आधिकारिक बेरोजगारी दर फेब्रुअरीमा बढेर ४.३ प्रतिशत पुगेको हो।
जनवरी र फेब्रुअरीको बीचमा रोजगार प्राप्त अष्ट्रेलियालीहरूको संख्या ४८ हजार ९ सयले बढेको छ। यद्यपि, सोही अवधिमा बेरोजगार अष्ट्रेलियालीहरूको संख्यामा ३५ हजार ९अर्थात ५.६ प्रतिशत%ले वृद्धि भएका कारण रोजगारीको त्यो वृद्धिलाई यसले सन्तुलित गरिदिएको छ।
अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन र अष्ट्रेलियन एसोसिएटेड प्रेसले जानकारी दिएअनुसार अर्थशास्त्रीहरूले फेब्रुअरीमा बेरोजगारी दर ४.१ प्रतिशत मै स्थिर रहने अपेक्षा गरेका थिए। रोजगारीमा देखिएको यो वृद्धि मुख्यतया आंशिक समय (पार्ट–टाइम) को रोजगारीका कारण भएको हो। जसमा ७९ हजार ४ सयले वृद्धि भयो। अर्कोतर्फ, पूर्णकालीन (फुल–टाइम) रोजगारीमा रहेका मानिसको संख्या भने ३० हजार ५ सयले घटेको छ।
फलस्वरूप, अष्ट्रेलियालीहरूले काम गरेको कुल घण्टा जनवरीको तुलनामा फेब्रुअरीमा ०.२ प्रतिशतले कम रहन गयो। सहभागिता दर, जसले रोजगारमा रहेका वा सक्रिय रूपमा काम खोजिरहेका कार्यकारी उमेरको जनसंख्याको अनुपातलाई मापन गर्दछ, ६६.७ प्रतिशतबाट बढेर ६६.९ प्रतिशत पुगेको छ।










Discussion about this post