काठमाडौँ – नेपाल व्यापार संघको ३३औँ वार्षिक साधारण सभा र १७औँ अधिवेशनको तयारीसँगै महिला सचिव पदमा प्रतिस्पर्धा उत्कर्षमा पुगेको छ। यसपटक शुसिला चौलागाइ र शर्मिला लुइटेलले उम्मेदवारी घोषणा गर्दै महिला नेतृत्वलाई संघभित्र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उम्मेदवारहरूका अनुसार, महिला नेतृत्वले केवल प्रतिनिधित्व मात्र नभई संघको नीतिगत र प्रशासनिक निर्णयमा पनि ठोस योगदान दिनसक्छ। चौलागाइले बताउनुभयो, “म सदस्यहरूसँग प्रत्यक्ष संवाद मार्फत समस्या समाधानमा जोड दिनेछु र पारदर्शी नेतृत्व सुनिश्चित गर्नेछु।”
त्यसैगरी लुइटेलले महिला सदस्य र युवा व्यवसायीलाई संघभित्र सशक्त बनाउने योजना अघि सार्दै आफ्नो उम्मेदवारीलाई सदस्य केन्द्रित र पारदर्शी प्रशासनको अवसरको रूपमा प्रस्तुत गर्नुभयो।
विशेषज्ञहरूको दृष्टिमा, यस्ता उम्मेदवारीहरूले संघमा महिला सहभागिता बढाउने मात्र होइन, युवा र नवप्रवेशी व्यवसायीहरूलाई सक्रिय सहभागितामा प्रोत्साहित गर्ने वातावरण पनि सिर्जना गर्नेछन्।
नेपाल व्यापार संघको ३३औँ साधारण सभा र १७औँ अधिवेशन यही चैत्र ७ गते शनिवार राष्ट्रिय सभा गृहमा हुँदैछ। यस अवसरमा नयाँ कार्यसमितिसहित समावेशी नेतृत्व चयन हुने छ। वर्तमान अध्यक्ष हरि गौतमले पुनः उम्मेदवारी नदिने घोषणा गरेसँगै संघमा नयाँ नेतृत्वको सम्भावना उच्च देखिएको छ।










Discussion about this post