कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ ले ‘जेनजी’ आन्दोलनका शहीद निरज पन्तको सम्मानमा चोकको नामाकरण गरेको छ। पश्चिमी सीमानाका गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालय (इप्रका) नजिकै रहेको मुख्य चोकलाई अब औपचारिक रूपमा ‘निरज चोक’ भनिने भएको छ।
परिवर्तनका लागि भएको युवाहरूको आन्दोलनमा निरज पन्तले पुर्याएको योगदान र उनको सर्वोच्च बलिदानलाई कदर गर्दै वडा कार्यालयले यो निर्णय लिएको हो। देश र समाजको हितका लागि प्राण आहुति दिने शहीदहरूको नामलाई इतिहासमा जीवन्त राख्न चोकको नामाकरण गरिएको वडाले जनाएको छ।
वडा अध्यक्ष प्रकाश थापाका अनुसार, नयाँ पुस्ताको आवाज र आन्दोलनको भावनालाई सम्मान गर्न यो कदम चालिएको हो। गड्डाचौकी जस्तो संवेदनशील र व्यस्त नाका नजिकैको चोकलाई शहीदको नामबाट पहिचान दिँदा आउँदो पुस्ताले पनि इतिहास र परिवर्तनका लागि भएको संघर्षको बारेमा जानकारी पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो। अध्यक्ष थापाले भन्नुभयो, “शहीद निरज पन्तले परिवर्तनका लागि देखाएको साहस अतुलनीय छ। गड्डाचौकी जस्तो अन्तर्राष्ट्रिय नाकाको प्रवेशद्वारमा रहेको चोकलाई उहाँकै नामबाट पहिचान दिँदा आउने पुस्ताले पनि हाम्रो गौरवपूर्ण इतिहासको बारेमा जानकारी पाउनेछन्।”
भीमदत्त नगरपालिका-११ का स्थानीय बासिन्दा समेत रहेका शहीद पन्तको सम्मानमा गरिएको यो नामाकरण कार्य शिक्षा युथ क्लबसँगको सहकार्यमा सम्पन्न गरिएको हो।










Discussion about this post