कञ्चनपुर । वेदकोट नगरपालिका वडा नम्बर–२ जडेपानीस्थित श्री बैजनाथ माध्यमिक विद्यालयको ४९औँ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेशबहादुर सिंहको अध्यक्षता तथा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा वेदकोट नगरपालिकाकी उपप्रमुख तुलसी जोशी विशिष्ट अतिथिरहनुभएको थियो।

समारोहका अवसरमा विद्यालयमा विज्ञान प्रदर्शनी तथा फुड फेस्टिवल समेत आयोजना गरिएको थियो। विद्यार्थीहरूले तयार पारेका विज्ञानसम्बन्धी सामग्रीहरूले अभिभावक तथा अतिथिहरूको ध्यान आकर्षित गरेको थियो भने फुड फेस्टिवलले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थीहरू, कक्षा १० र १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षकहरू, उत्कृष्ट अभिभावक, दीर्घ सेवा गर्ने शिक्षकहरू, साथै विद्यालयका पूर्व प्रधानाध्यापक र पूर्व शिक्षकहरूलाई सम्मान गरिएको थियो। यसका साथै समाजसेवी तथा बुद्धिजीवी व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको विद्यालयले जनाएको छ।
समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो, जसमा विद्यार्थीहरूको नृत्य, गीत तथा प्रस्तुतीहरूले कार्यक्रमलाई जीवन्त बनाएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवराज पन्तले विद्यालयको वार्षिक प्रतिवेदन तथा आगामी योजनाहरू प्रस्तुत गर्नुभयो। त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेशबहादुर सिंहले विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक संरचना विकास तथा भावी नीतिहरू बारे धारणा राख्दै सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।

प्रमुख अतिथि नगर प्रमुख भोजराज बोहराले विद्यालयको शैक्षिक योगदानको प्रशंसा गर्दै नगरपालिकाबाट शिक्षा क्षेत्रलाई आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उपप्रमुख तुलसी जोशीले सामुदायिक विद्यालयको सुदृढीकरणमा अभिभावक, शिक्षक र स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र विद्यार्थीमैत्री कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।










Discussion about this post