कञ्चनपुर । सुदूरपश्चिमको अग्रणी शैक्षिक संस्था जनज्योति बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह सुरु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–१८, भाषीमा रहेको क्याम्पसको वार्षिक कार्यक्रमअनुसार ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित सोमबारदेखि खेलकुद सप्ताहको औपचारिक शुभारम्भ गरिएको हो।

क्याम्पस तथा जनज्योति माविमा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा खेलकुद सप्ताह आयोजना गरेको जनाएको छ। विद्यार्थीहरूको शारीरिक, मानसिक र बौद्धिक विकासलाई लक्षित गर्दै आयोजना गरिएको खेलकुद सप्ताहमा विविध खेलकुद तथा सिर्जनात्मक प्रतियोगिताहरू समावेश गरिएका छन्।
खेलकुद सप्ताहअन्तर्गत क्रिकेट, भलिबल, सटफुट, ब्याडमिन्टन, दौड, हाजिरजवाफ, वादविवाद, चेस, कविता लेखन, निबन्ध लेखन लगायतका विभिन्न प्रतियोगिताहरू सञ्चालन हुनेछन्।

खेलकुद सप्ताहका संयोजक प्रजापाति नेगीले खेलकुदमार्फत विद्यार्थीहरूबीच आपसी सद्भाव, सहकार्य र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले क्याम्पसमा अध्ययनरत सबै विद्यार्थीलाई सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो।
त्यस्तै, क्याम्पस प्रमुख प्रकाश दत्त जोशीले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभाको पहिचान र विकासका लागि क्याम्पसले प्रत्येक वर्ष खेलकुद सप्ताह आयोजना गर्दै आएको जानकारी दिनुभयो। खेलकुद गतिविधिले अध्ययन अध्यापनसँगै विद्यार्थीहरूमा अनुशासन, सामूहिक भावना र नेतृत्व क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ।
खेलकुदले विद्यार्थीहरूलाई मानसिक र शारीरिक रूपमा स्वस्थ राख्नुका साथै व्यक्तित्व विकासमा समेत टेवा पुग्ने भएकाले यस्ता कार्यक्रमलाई क्याम्पसले निरन्तरता दिँदै आएको क्याम्पस प्रमुख जोशीले उल्लेख गर्नुभयो।










Discussion about this post