कञ्चनपुर: अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विज्ञान प्रविधिलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्। सोमबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री पुनले अनुसन्धान,आविष्कार र नव प्रवर्तनलाई प्रोत्साहन गर्नु नै आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका हुन्।
पुनले आफू अपर्झट मन्त्री बनेको बताउँदै सरकारबाट सेवा सुविधा नलिने उद्घोष गरे। ‘ शिवजी भइदिएको भए त्रि(नेत्र लगाएर म यसोउसो गर्छु भन्थे। तर, अपर्झट यहाँ आएर मन्त्री भएको छु, ‘उनले भने,’ सेवा सुविधा केही चाहिदैन। अब मन्त्रालयमा बस्ने र त्यही ओछ्यान लगाउने हो।’
प्रधानमन्त्री सुशीला कार्कीले आज पुनसहित चार मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेकी छन्। पुनसँगै अनिलकुमार सिन्हा,मदन परियार र जगदीश खरेल मन्त्री बनेका छन्।
सिन्हा उद्योग वाणिज्य, आपूर्ति, कानुन,न्याय तथा संसदीय मन्त्रालय र भूमिसुधार मन्त्री, सहकारी तथा गरिबी निवारण, परियार कृषि र खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका छन्।
प्रधानमन्त्री कार्कीले यसअघि गृहमा ओमप्रकाश अर्याल, अर्थमा रामेश्वर खनाल र ऊर्जामा कुलमान घिसिङ नियुक्त गरेकी छन्। जेनजी समूहको प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त गरेका हुन्।










Discussion about this post