
महेन्द्रनगर । महेन्द्रनगरको खुलामञ्चमा गौरा महोत्सव हुने भएको छ । विगत बर्ष जस्तै यस बर्ष पनि महाकाली साहित्य संगमको आयोजनामा महेन्द्रनगरको खुलामञ्चमा गौरा महोत्सव आयोजना हुने भएको हो ।
शनिबार महाकाली साहित्य संगमले पत्रकार सम्मेलनको आयोजना गरी आगामी भाद्र १२ गतेदेखि महेन्द्रनगरको खुलामञ्चमा महोत्सव सुरु हुने जानकारी दिएको छ ।
संगमका अध्यक्ष हरिशप्रसाद जोशीले सम्पदा संरक्षण र सांस्कृतिक गौरवलाई उच्च राख्ने उद्देश्यका साथ यस बर्ष पनि विगत बर्षझै गौरा महोत्सव आयोजना गर्न लागिएको बताए ।
अध्यक्ष जोशीका अनुसार वर्षको महोत्सवमा परम्परागत डेउडा नृत्य, गितीकथा वाचन, लोकसंगीत र वाद्य प्रदर्शन लगायत विविध कार्यक्रम समावेश हुने छन् ।
कार्यक्रमका वरिष्ठ उपाध्यक्ष समेत रहेका सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलले नेपाली मौलिक संस्कृति आक्रमणमा परेको उल्लेख गर्दै संरक्षणमा जोड दिनुपर्ने बताए ।
‘हाम्रो संस्कृतिमाथि आक्रमण भइरहेको छ, मूल स्वरुप समाप्त हुनेतर्फ अग्रसर छ । त्यसैले सांस्कृतिक सम्पदा जोगाउँदै गौरव बढाउने हेतुले महोत्सव आयोजना गर्न लागिएको हो,’ उनले भने, ‘गौरा पर्वले परापुर्वकालमा पनि महिलाहरुको शसक्तिकरपणका लागि पार्वतीले आवाज बुलन्द गरेको कुरा पुनतार्जकि गर्ने गर्दछ ।’
सुदूरपश्चिमको समृद्ध लोकसंस्कृति अझै घरभित्र मात्र सीमित रहेको उल्लेख गर्दै रावलले यसलाई समाजमा सकारात्मक रुपमा प्रस्तुत गर्नुपर्ने बताए ।
‘हामीलाई छाउपडी र देउकी प्रथा मात्र मान्ने ठाउँका मानिस भनेर चिन्छन् । तर, दिदीबहिनी भेट्ने र एकता मिलनलाई पर्वका रुपमा मनाउने परम्परा हाम्रो गौरव हो। यसलाई स्थापित गर्न सकेनौं भने हाम्रो मौलिकता हराउने खतरा छ,’ रावलले थपे ।










Discussion about this post