कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११, भुजेलाकी स्थानीय बासिन्दा बिश्ना दमाईको आकस्मिक निधनपछि मानवीयताको उत्कृष्ट नमुना देखिएको छ।
बिश्नाको निधन हुँदा उनको साथमा श्रीमान् र छोराछोरी कोही पनि नभएको खबर पाएपछि वडा नम्बर ११ का अध्यक्ष प्रकाश थापाले आफूलाई जनप्रतिनिधिको जिम्मेवारी र मानवीय कर्तव्य दुवैमा उभ्याउँदै उदाहरणीय कार्य गरेका छन्।
दमाईको निधनपछि उनको शव व्यवस्थापन र दाहसंस्कारका लागि परिवारमा कोही नहुँदा स्थानीयहरू चिन्तित थिए। यस विषम परिस्थितिमा वडा अध्यक्ष थापाले तत्कालै पहल गर्दै सम्पूर्ण आर्थिक खर्चको व्यवस्था मिलाए। उनले आर्थिक सहयोग मात्र होइन, अन्त्येष्टि सामग्रीको व्यवस्थापन गर्नुका साथै आफू मलामी गएर दाहसंस्कारको प्रक्रियामा समेत सहभागी भए।
वडा अध्यक्ष थापाको यो कार्यले एक जनप्रतिनिधिले जनताको सुखदुःखमा कसरी साथ दिनुपर्छ भन्ने सन्देश दिएको छ। सामान्यतया यस्ता सामाजिक कार्यहरू परिवार वा नजिकका आफन्तबाट हुने गर्छन्। तर बेल्डाँडी बाट थोरै संख्यामा आफन्त आएपछि वडा अध्यक्ष थापाले लिएको यो जिम्मेवारीले जनप्रतिनिधि र जनताबीचको सम्बन्धलाई थप मजबुत बनाएको छ।
यो घटनाले समाजमा मानवता र सहिष्णुताको महत्त्वलाई पनि उजागर गरेको छ। वडा अध्यक्ष थापाको यस कार्यले समाजमा सकारात्मक प्रभाव पार्नुका साथै अरूलाई पनि यस्तै मानवीय कार्य गर्न प्रेरित गरेको स्थानीयको भनाइ रहेको छ। भीमदत्त नगरपालिकाले पनि यस कार्यमा सहयोग गरेको छ। नगरपालिकाले शव वाहन र ट्रयाक्टर निःशुल्क प्रदान गरेर सहयोग गरेको हो।










Discussion about this post