कञ्चनपुर । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको सरकार भ्रष्टाचार गर्नेहरूको संरक्षण गर्न बनेको आरोप लगाएका छन्। सोमबार महेन्द्रनगरमा प्रेस सेन्टर नेपाल, कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।
पूर्व उपप्रधान, गृह र परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले अघिल्लो माओवादी नेतृत्वको सरकारले सुशासन कायम गर्दै भ्रष्टाचारीहरूमाथि कारबाही गर्न थालेपछि त्यसको विरुद्धमा एमाले र कांग्रेसको नेतृत्वमा वर्तमान सरकार बनेको दाबी गरे। “प्रचण्ड नेतृत्वको सरकारले जनतालाई विकास र सुशासन दिन खोज्दा सरकार नै ढालियो,” उनले भने, “यो सरकारको पर्यायवाची भ्रष्टाचार, छलछाम र कपट हो। यो सरकार जति रहन्छ, देशमा त्यति नै यथास्थिति कायम रहन्छ।”
श्रेष्ठले यथास्थितिलाई परास्त गर्न सबै वामपन्थी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए। उनले नेकपा (विप्लव), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायतका शक्तिहरूसँग नेकपा र समाजवादी मोर्चा ब्युँताउने विषयमा छलफल भइरहेको जानकारी दिए।
“संविधानको रक्षा गर्न र देशलाई प्रतिगमनको खतराबाट बचाउनु छ,” उनले भने, “अहिलेको मुख्य राष्ट्रिय कार्यभार सामाजिक आर्थिक रूपान्तरण हो, जसका लागि सुशासनको विकल्प छैन।”
मंगलबार नेकपा माओवादी केन्द्रको भीमदत्त नगर सम्मेलन उद्घाटन गर्न कञ्चनपुर पुगेका श्रेष्ठले दोधाराचाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह स्थलको पनि अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले माओवादी सरकारकै परिकल्पनाअनुसार पश्चिम नेपालबाट देशको विकास अघि बढाउने योजना पार्टी सरकारको नेतृत्वमा नहुँदा ओझेलमा परेको बताए। उनले उक्त योजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिए।
श्रेष्ठले धनगढी विमानस्थलबाट हुलाकी राजमार्ग हुँदै दक्षिणी क्षेत्रको पुनर्वास, बेलौरी र बेलडाँडी भएर महेन्द्रनगरसम्मको यात्रा गरेका थिए। मंगलबार उनले नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यालयमा भीमदत्त नगर पार्टीको नगर सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको छ।










Discussion about this post