काठमाडौं । बिर्सने रोगका रूपमा चिनिने डिमेन्सियाको रोकथाम, प्रारम्भिक पहिचान र उपचारका प्रभावकारी उपाय खोज्न बेलायतमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ।
यसका लागि बेलायतमा दुई करोड पाउन्ड खर्च गरिने भएको छ। एक्सिटर विश्वविद्यालयको नेतृत्वमा सञ्चालन हुने ‘ब्रेनिआक हब’ नामक अनुसन्धान केन्द्रलाई बेलायतका अनुसन्धान संस्था र राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का साझेदारहरूले एक–एक करोड पाउन्ड अनुदान उपलब्ध गराउने घोषणा गरेका छन्।
विश्वविद्यालयका अनुसार उक्त केन्द्रले मस्तिष्कको अवस्था, आनुवंशिक विवरण, रगतमा पाइने जैविक संकेत तथा डिजिटल परीक्षणबाट प्राप्त तथ्याङ्कलाई एकीकृत गरी एआई प्रणाली विकास गर्नेछ। यस प्रविधिले व्यक्तिको मस्तिष्क स्वास्थ्यको विस्तृत अवस्था पहिचान गर्न तथा डिमेन्सियाको जोखिम समयमै पत्ता लगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बीबीसीका अनुसार यो अनुदान छ वर्षे अनुसन्धान परियोजनाका लागि उपलब्ध गराइएको हो। परियोजनाअन्तर्गत डिमेन्सियाको प्रारम्भिक पहिचान र रोकथामका लागि सन् २०२९ देखि क्लिनिक सञ्चालनमा ल्याउने योजना छ।
सुरुवाती चरणमा ती क्लिनिकमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मार्फत सिफारिस गरिएका व्यक्तिहरूले मात्र सेवा पाउनेछन्। यस परियोजनामा बेलायतभरका १० वटा मस्तिष्क स्वास्थ्य क्लिनिक सहभागी हुनेछन्।
डिमेन्सियाको पहिचान, रोकथाम र उपचारका प्रभावकारी विधि विकास गर्ने उद्देश्यसहित अघि बढाइएको यो परियोजनालाई विश्वकै ठूलो मस्तिष्क स्वास्थ्य अनुसन्धान पहलमध्ये एक बनाउने लक्ष्य राखिएको छ।










Discussion about this post