कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-११, भुजेलास्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर दुई बालिका बेपत्ता भएका छन्। आइतबार दिउँसो करिब २ बजेतिर नदी किनारमा नुहाउँदै गर्दा ६ वर्षीया सानवी पन्त र ८ वर्षीया जीविका पन्तलाई नदीले बगाएको हो।
बेपत्ता भएका बालिकाको खोजी कार्यका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गड्डाचौकी, झोलुङ्गे प्रहरी चौकी, इलाका प्रहरी कार्यालय दोधाराचाँदनी, सशस्त्र प्रहरी बिट झोलुङ्गेलगायतका विभिन्न निकायबाट १८ जनाको टोली तत्कालै घटनास्थलमा खटिएको थियो।
लगत्तै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी नायव उपरीक्षक सागर बोहराको नेतृत्वमा थप पाँच जनाको टोली पनि खोजीमा संलग्न भएको थियो। तर, आइतबार राति ८ बजेसम्म पनि उनीहरूको पत्ता लाग्न नसकेपछि खोजी कार्य स्थगित गरिएको थियो।
आज (सोमबार) बिहान ७ बजेदेखि फेरि खोजी कार्य सुरु गरिएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकी, झोलुङ्गे प्रहरी चौकी, इलाका प्रहरी कार्यालय दोधाराचाँदनी, सशस्त्र प्रहरी बिट झोलुङ्गे र बाबाथान प्रहरी चौकीबाट गरी कुल २१ जनाको प्रहरी टोली अहिले खोजी कार्यमा खटिएको छ।
स्थानीय मुकेश पन्तकी छोरी सानवी र पदमराज पन्तकी छोरी जीविकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।










Discussion about this post