कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका -३ भासीमा रहेको महाकाली मोडर्न पब्लिक स्कुलले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै वेदकोट नगरपालिका ७ र ८ मा अवस्थित श्री बैजनाथ धाम तथा वृद्धाश्रम सेवा समितिलाई ३० वटा कुर्सी र फलफूल सहयोग गरेको छ। विद्यालयले ‘संस्कारसहितको शिपयुक्त शिक्षा’ भन्ने आफ्नो नारालाई व्यवहारमा उतार्दै यो उदाहरणीय कार्य गरेको हो।
यस सहयोग कार्यमा विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरूलाई समेत सहभागी गराइएको थियो। विद्यार्थीहरूले वृद्धाश्रममा पुगेर वृद्धवृद्धाहरूलाई सम्मान गर्दै सामग्री हस्तान्तरण गरेका थिए।

विद्यालयका प्रिन्सिपल दिजराज भट्टका अनुसार, यो सहयोग रकम विद्यालयले आयोजना गरेको होली कार्यक्रमबाट संकलन गरिएको थियो। उहाँले भन्नुभयो “वृद्धाश्रममा कुर्सीको आवश्यकता रहेको जानकारी पाएपछि हामीले सहयोग गर्ने निर्णय गर्यौं,” प्रिन्सिपल भट्टले थप्नुभयो। “यो सहयोगले हामीलाई मात्र होइन, हाम्रा विद्यार्थीहरूलाई पनि आफ्ना आमाबुवाको सेवा गर्नुपर्छ, जीवित भगवान्रूपी आमाबुवालाई सम्मान गर्नुपर्छ र वृद्धाश्रममा छोड्नु हुँदैन भन्ने महत्त्वपूर्ण सन्देश दिन सफल भएका छौं।”

विद्यालयका संस्थापक हर्कबहादुर धामीले विगत ४० वर्षदेखि शिक्षा क्षेत्रमा लागेको र यस्तो सामाजिक कार्यमा संलग्न हुन पाउँदा आफूलाई अत्यन्त खुसी लागेको बताउनुभयो। उहाँले महाकाली मोडर्न पब्लिक स्कुलले विगतमा पनि अनाथालय र वृद्धाश्रमहरूमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यहरूमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कक्षा १० की छात्रा प्राश्ना विष्टले वृद्धाश्रमको यो भ्रमणले आफूलाई बुवाआमाको महत्त्व र उहाँहरूलाई माया गर्नुपर्ने सिकाइ भएको बताइन्। “विद्यालयले गरेको यस सहयोगले वृद्धाश्रमलाई निकै सहज हुनेछ,” उनले भनिन्।
महाकाली मोडर्न पब्लिक स्कुलले ‘संस्कारसहितको शिपयुक्त शिक्षा’ प्रदान गर्ने आफ्नो लक्ष्यलाई साकार पार्न विभिन्न रचनात्मक कार्यहरू गर्दै आएको छ। विद्यालयमा गायन र नृत्यका कक्षा सञ्चालन, हरेक शुक्रबार ‘ब्याग फ्रि’ नीति, शिक्षकहरूका लागि नियमित तालिम, उत्कृष्ट शिक्षकलाई मासिक पुरस्कार र विद्यार्थीहरूलाई हरेक महिना फिल्ड भिजिट जस्ता नौलो विधिहरू अपनाइएका छन्। यी प्रयासहरूले विद्यार्थीहरूलाई किताबी ज्ञानका साथै व्यावहारिक र सामाजिक शिक्षा प्रदान गर्न मद्दत पुर्याएको छ।









Discussion about this post