कञ्चनपुर । प्रेस सेन्टर नेपाल कञ्चनपुरले पत्रकार कृष्ण सेन ‘इच्छुक’को २३ औँ स्मृति दिवस मङ्गलवार विशेष कार्यक्रमका साथ मनाएको छ। जनदिशा दैनिकका प्रधान सम्पादक रहँदा २०५९ साल जेठ १३ गते प्रहरीले हत्या गरेका सेनको स्मृतिमा देशभर विविध कार्यक्रम आयोजना गरिएको हो।
कञ्चनपुरमा सम्पन्न स्मृति दिवस कार्यक्रम प्रेस सेन्टर कञ्चनपुरका अध्यक्ष अरुण भट्टको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रेस सेन्टर नेपालका उपाध्यक्ष रामसिंह ठगुन्ना प्रमुख अतिथि रहनु भएको थियो । स्मृति दिवस कार्यक्रममा प्रेस सेन्टर नेपालका सचिव राजेन्द्र अवस्थी, पत्रकार महासङ्घ कञ्चनपुरका कोषाध्यक्ष मोहन विष्ट, प्रेस चौतारी कञ्चनपुरका अध्यक्ष मदन गिरीलगायत सक्रिय पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा कृष्ण सेन ‘इच्छुक’को तस्बिरमा फूल माला र अबिर अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। प्रमुख अतिथि ठगुन्नाले पत्रकार सेनको नेपाली राजनीति, साहित्य र पत्रकारितामा पुर्याएको योगदानको चर्चा गर्दै उहाँको बलिदानले आजको पत्रकारिता आन्दोलनलाई मार्गदर्शन गरेको उल्लेख गर्नुभयो। कार्यक्रममा अध्यक्ष भट्टले इच्छुकले देखाएको वीरता, क्रान्तिको बाटो र सिद्धान्तको उच्च मूल्याङ्कन गर्दै वर्तमान पुस्ताले उहाँको मार्गमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
यसै अवसरमा प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको आयोजनामा काठमाडौँमा समेत विशेष कार्यक्रम आयोजना गरिएको छ। प्रत्येक वर्ष जेठ १३ गते प्रेस सेन्टरले सेन स्मृति दिवसको रूपमा विविध कार्यक्रम गरी पत्रकार सेनको बलिदानको सम्झना गर्दै आएको छ।










Discussion about this post