काठमाडौं — प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि तीव्र आरोप लगाएका छन्। बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै ओलीले प्रचण्डले कम्बोडियामा आफ्नो ३२ अर्ब रुपैयाँ लगानी रहेको भनी झूटो हल्ला फैलाएको दाबी गरे।
“कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ हो,” ओलीले भने, “त्यसको पछि लाग्नेहरु माधव नेपाल र झलनाथ खनालहरु हुन्।”
ओलीले नेकपा (एकीकृत समाजवादी)का नेता माधवकुमार नेपाल र झलनाथ खनालमाथि समेत कटाक्ष गर्दै पार्टीको नेतृत्वमा रहँदा प्रभावकारी ढंगले चलाउन नसकेको आरोप लगाए। उनले पार्टीलाई कब्जामा राख्न खोजेको र अहिले पार्टीविरुद्ध षड्यन्त्रमा लागेको टिप्पणी गरे।
“माधव र झलनाथले पार्टी प्रमुख हुँदा प्रभावकारीरुपमा चलाउन सकेनन्,” ओलीले भने, “पछिसम्म पार्टी चाँही कब्जामा लिएर बस्न खोजे। हामीले निकम्मा, बेठिक र परनिर्भर नेतृत्व विस्थापन गरेर ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा बोकेर पार्टीलाई अगाडि बढाउँदा उनीहरुलाई चित्त बुझेन। त्यसैले अहिले षड्यन्त्रमा लागेका छन्।”
ओलीले पार्टीभित्र देखिएको असहमति र नेतृत्वको आलोचनालाई पूर्वगामी र स्वार्थपरक नियतको परिणाम भएको जनाए। उनले एमालेको उद्देश्य र कार्यशैलीलाई जनतामाझ थप स्पष्ट पार्दै संगठन सुदृढीकरणमा जोड दिए।










Discussion about this post