कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारद्वारा नमुना विद्यालयका रूपमा छनौट भएको कञ्चनपुरको लक्ष्मी माध्यमिक विद्यालयले आफ्नो गुरुयोजना निर्माणका लागि सरोकारवालाहरूसँगको छलफललाई तीव्र पारेको छ। भीमदत्त नगरपालिका-१९, बागफाँटामा रहेको यस विद्यालयले शुक्रबार विद्यार्थी, अभिभावक, स्थानीय जनप्रतिनिधि र विभिन्न सरोकारवाला निकायका प्रतिनिधिसहितको कार्यशाला आयोजना गरी सुझाव संकलन गरेको हो।
लक्ष्मी माविका प्रधानाध्यापक प्रमानन्द नाथले प्रदेश सरकारले नमुना विद्यालय छनौट गरेसँगै आगामी आर्थिक वर्षका लागि जेठ १५ गतेभित्रै कार्ययोजना पेस गर्नुपर्ने समयसीमा दिएकाले सरोकारवालाहरूसँग छलफल गरेको बताए। उनले नमुना विद्यालय सञ्चालनका लागि विज्ञसहितका सरोकारवालाबाट सुझाव संकलन गरिएको र प्राप्त सुझावअनुरूप नै कार्ययोजना पेस गरिने जानकारी दिए। प्रअ नाथले प्रदेश सरकारको कार्यविधिअनुरूप साँच्चिकै नमुना विद्यालय बनाउने प्रतिबद्धता व्यक्त गरे। यसका लागि इन्जिनियर रविन्द्र दवाडी र सुदूरपश्चिम विश्वविद्यालय इन्जिनियरिङ संकायमा कार्यरत प्राध्यापक जयराजन पन्थीबाट प्राविधिक सहयोग प्राप्त भएको पनि उनले बताए।
छलफलमा सहभागी सरोकारवालाहरूले विद्यालयलाई साँच्चिकै नमुना बनाउन विभिन्न रचनात्मक सुझाव दिएका छन्। इन्जिनियर रविन्द्र दवाडीले नमुना विद्यालय प्रवेशद्वारदेखि कक्षाकोठासम्मका सबै विषयमा नमुना हुनुपर्नेमा जोड दिए। भीमदत्त नगरपालिका कार्यपालिका सदस्य बसन्ती जोशीले व्यक्तिगत स्वार्थ त्यागेर सबैले नमुना विद्यालय बनाउन केन्द्रित हुनुपर्ने सुझाव दिइन्। भीमदत्त नगरपालिका-१९ का वडा सदस्य भागरथी विष्टले सामुदायिक विद्यालयलाई नमुना बनाउन जनप्रतिनिधिको तर्फबाट सहयोगको प्रतिबद्धता व्यक्त गरिन्। अभिभावक डिलाराज पन्तले नमुना विद्यालयको स्तरोन्नतिमा विद्यालय, सरकार र समुदायको भूमिका महत्त्वपूर्ण हुने बताए।

लक्ष्मी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीले प्रदेश सरकारले नमुना विद्यालय छनौट गरेपछि विद्यालयलाई साँच्चिकै नमुना बनाउनका लागि विद्यार्थीमैत्री वातावरण तयार गर्न सरोकारवालाहरूले साथ र समर्थन गर्नुपर्नेमा जोड दिए। प्रदेश सरकारले लक्ष्मी माविसहित कञ्चनपुरका ६ वटा विद्यालयलाई नमुना विद्यालयका रूपमा छनौट गरेको छ।

Discussion about this post