कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ भासीमा अवस्थित महाकाली मोडर्न पब्लिक स्कुलले शुक्रबार विद्यालयमा विभिन्न विद्यार्थी नेतृत्वका लागि निर्वाचन सम्पन्न गरेको छ।
विद्यालयले विद्यालय कयाप्टेन, विद्यालय भाइस कयाप्टेन, विद्यालय भाषागत क्याप्टेन, सहायक विद्यालय भाषागत क्याप्टेन, विद्यालय अनुशासन क्याप्टेन र विद्यालय सहायक अनुशासन क्याप्टेन पदका लागि निर्वाचन गरेको हो।विद्यालयका कक्षा ५ देखि कक्षा ११ सम्मका विद्यार्थीहरूले निर्वाचनको निर्धारित प्रक्रिया अनुसार उम्मेदवारहरूलाई मतदान गरी विजेता चयन गरेका छन्।
विद्यालयका प्रिन्सिपल द्विजराज भट्टले प्रत्येक शैक्षिक सत्रको सुरुवातमा विद्यार्थीहरूलाई नेतृत्व विकासको अवसर प्रदान गर्ने उद्देश्यले यी पदहरूमा निर्वाचन गर्ने गरिएको जानकारी दिए। उनले भने, “अहिलेको समयमा नेतृत्व कसरी गर्ने र भोलिका लागि नेतृत्व क्षमताको विकास अहिलेदेखि नै होस् भन्ने हाम्रो प्रमुख उद्देश्य हो।”विभिन्न पदका लागि धेरै विद्यार्थीले प्रतिस्पर्धा गरेकाले निर्वाचनले विद्यार्थीहरूलाई क्षमतावान र दक्ष क्याप्टेन छनोट गर्ने अवसर मिलेको प्रिन्सिपल भट्टले बताए।
विजयी उम्मेदवारहरूले एक वर्षसम्म विद्यालयका विभिन्न कार्यक्रममा आफ्नो पद अनुसार सहयोग गर्ने र नेतृत्व क्षमता विकासमा योगदान पुर्याउने उनको भनाइ छ।प्रिन्सिपल भट्टले नेपाल सरकारको निर्वाचन प्रक्रिया अनुसार नै विद्यालयमा निर्वाचन गरिएको र यसले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान र नेतृत्व क्षमता विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले “संस्कार सहितको शिपयुक्त शिक्षा” प्रदान गर्दै आएको विद्यालयले नवीनतम कार्यहरूलाई प्राथमिकता दिइरहेको पनि बताए।विद्यालयले गायन र नृत्य कक्षा सञ्चालन, शुक्रबार ब्याग फ्रि कार्यक्रम, शिक्षक तालिम, उत्कृष्ट शिक्षकलाई मासिक पुरस्कार र विद्यार्थीहरूका लागि नियमित फिल्ड भिजिट जस्ता गतिविधिहरू सञ्चालन गरिरहेको छ।
निर्वाचनको परिणाम आइतबार घोषणा गरिने विद्यालयले जनाएको छ।










Discussion about this post