सरिता चन्द, कैलाली । सेवा र विकासका लागि युवा नामक संस्थाले विभिन्न जिल्लाका विपन्न तथा शैक्षिक सहायता आवश्यक भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै उनीहरूको क्षमता विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ।
संस्थाले २०७९ फागुनदेखि गत चैत्र मसान्तसम्म विभिन्न चरणमा यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ।संस्थाका अनुसार बागलुङ, बर्दिया, झापा, काठमाडौं, कास्की, लमजुङ, महोत्तरी, मकवानपुर, पाल्पा, पर्वत, रौतहट र सुनसरी जिल्लाका गरी २०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
यसैगरी, संस्थाले विद्यार्थीहरूलाई नेतृत्व विकास, कम्प्युटर प्रशिक्षण, कृषि तथा बैंक सञ्चालन, विभिन्न सीपमूलक तालिम, सरसफाइ र अन्य जीवनोपयोगी विषयमा समेत तालिम प्रदान गरेको छ।
हालै सम्पन्न शैक्षिक सामग्री वितरण तथा क्षमता विकास कार्यक्रम–२०८२ को दोस्रो चरण अन्तर्गत २९ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। जसमा मुख्यतया उदयपुर, पर्सा, रूपन्देही, सुनसरी, धादिङ, दोलखा, सुर्खेत, डोटी, बाँके, नवपरासी, तनहुँ लगायतका १३ वटा जिल्लाका कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरू रहेका छन्।
कार्यक्रममा झोला, कापी, कलम, ज्यामिति बक्स, प्राविधिक शिक्षाको पुस्तक लगायतका शैक्षिक सामग्रीहरू वितरण गरिएको थियो।उक्त शैक्षिक सामग्री वितरण तथा क्षमता विकास कार्यक्रममा विभिन्न पालिकाका जनप्रतिनिधि, शिक्षा क्षेत्रका व्यक्तित्व, समाजसेवी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै सेवा र विकासका लागि युवाका अध्यक्ष डा. देवेन्द्र कण्डेलले शिक्षाको महत्व र विपन्न विद्यार्थीहरूलाई सहयोग गर्ने संस्थाको उद्देश्यबारे प्रकाश पारे। भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने उनले बताए।कार्यक्रममा संस्थाका सचिव खगेन्द्र बहादुर क्षेत्री र संयोजक प्रकाश शर्माले पनि आफ्नो भनाइ राखेका थिए।
कार्यक्रमको अन्तमा सहभागी विद्यार्थीहरूले शैक्षिक सामग्री पाएकोमा खुसी व्यक्त गर्दै संस्थालाई धन्यवाद दिएका थिए। सेवा र विकासका लागि युवाले आगामी दिनमा पनि शिक्षा र युवा विकासका क्षेत्रमा थप सहकार्य र समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।










Discussion about this post