कञ्चनपुर — सार्क एजुकेसन फाउन्डेसनले शिक्षकहरूको पेशागत विकास र शिक्षण दक्षता अभिवृद्धिका लागि तीनदिने तालिम कार्यक्रमको आयोजना आजदेखि महेन्द्रनगरमा सुरु गरेको छ। नयाँ शैक्षिक सत्रको प्रारम्भसँगै आयोजित यो तालिममा ५० जना शिक्षकहरू पहिलो दिनको सत्रमा सहभागी भएका छन्।
तालिमको पहिलो दिनको सत्र फाउन्डेसनका कार्यकारी प्रमुख डा. लक्ष्मण बस्नेतले सहजीकरण गरेका थिए। डा. बस्नेतले एकीकृत पाठ्यक्रमका विविध पक्षहरूबारे गहन छलफल गर्दै शिक्षकहरूलाई अन्तरक्रियात्मक समूह कार्यमा संलग्न गराए। उनले शिक्षकहरूलाई आफ्ना अनुभवहरूमाथि चिन्तन गर्न प्रेरित गर्दै कक्षाकोठामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिए। “पाठ्यक्रमले विद्यार्थीहरूमा आलोचनात्मक सोच, समस्या समाधानको क्षमता र सिर्जनशीलता अभिवृद्धि गर्न सक्नुपर्छ,” डा. बस्नेतले भने। उनले शिक्षकहरूलाई विद्यार्थीकेन्द्रित शिक्षण विधि अपनाउन र कक्षालाई थप जीवन्त बनाउन प्रोत्साहित गरे।

सार्क स्कूलका प्रिन्सिपल अशोक राज खातीले तालिमको महत्वमाथि प्रकाश पार्दै भने, “यो तालिम हाम्रो वार्षिक नियमित गतिविधिको अभिन्न अंग हो। तर, नयाँ शैक्षिक सत्रको सुरुवातमै आयोजना गरिएको यो कार्यक्रमले शिक्षकहरूलाई वार्षिक योजनाहरू स्पष्ट गर्न, नयाँ शिक्षण रणनीति अवलम्बन गर्न र शिक्षण प्रक्रियालाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने छ।”
यो तीनदिने तालिममा विभिन्न क्षेत्रका विज्ञहरूलाई अतिथि सहजीकरणकर्ताको रूपमा आमन्त्रित गरिएको छ। उनीहरूले कक्षा शिक्षण विधि, विद्यार्थी मूल्यांकन प्रणाली, र नवीन शैक्षिक प्रविधिको प्रयोगजस्ता विषयमा प्रशिक्षण दिनेछन्।

तालिमले शिक्षकहरूलाई आधुनिक शिक्षणका चुनौतीहरू सामना गर्न सक्षम बनाउने र विद्यार्थीहरूको सिकाइ उपलब्धि वृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

सहभागी शिक्षकहरूले तालिमको पहिलो दिन निकै उपयोगी र प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन्। तालिमको समापनपछि सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ, र उनीहरूले सिकेका कुरालाई आफ्नो कक्षाकोठामा लागू गर्ने अवसर प्राप्त गर्नेछन्।
सार्क एजुकेसन फाउन्डेसनले यस्ता तालिमहरूलाई निरन्तरता दिंदै शिक्षण पेशालाई थप सशक्त र प्रभावकारी बनाउने लक्ष्य राखेको छ।











Discussion about this post