बिकास सिंह महता, धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढीमा नेपाल प्रहरीसँग यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबारे अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आइतबार धनगढीको आस्था होटेलमा नील हिरा समाज, धुम्बराही, काठमाडौँको आयोजना र सुदूरपश्चिम समाज, कैलालीको समन्वयमा यो कार्यक्रम भएको हो।
अधिकारकर्मी भूमिका श्रेष्ठले “हामी सबै भिन्न, हामी सबै समान” भन्ने नारासहित यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको बारेमा प्रस्तुति दिँदै जानकारी गराउनुभयो। अधिकारकर्मी सिम्रन शेरचनले आफ्ना जीवनमा भोगेका समस्या, चुनौती र अवसरबारे चर्चा गर्दै अल्पसङ्ख्यक समुदायले आफ्नो पहिचानमा सहजता अनुभव गर्न सक्ने बताउनुभयो।

सुदूरपश्चिम समाजका अध्यक्ष निरङ्ग चौधरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हकअधिकार, हिंसाका घटना, समान प्रतिनिधित्व, मतदाता अधिकार, वैवाहिक समानता र शिक्षासम्बन्धी मुद्दाहरूमा प्रस्तुति दिनुभयो।
कैलालीका प्रहरी प्रमुख एसपी बल नरसिंह राणाले प्रहरीको व्यवहार सबैप्रति सकारात्मक रहेको र सामाजिक सुरक्षा कायम गर्न यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायसँग समन्वय निरन्तर रहने बताउनुभयो। प्रहरी निरीक्षक दर्शन खड्काले समुदायलाई सचेतना र परामर्श बढाउन आग्रह गर्दै सुरक्षा व्यवस्थापनमा सबैको सहयोग अपेक्षित रहेको उल्लेख गर्नुभयो।
पछिल्लो समय यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमा हिंसा बढ्दो क्रममा रहेको भन्दै यसप्रति संवेदनशील हुनुपर्नेमा जोड दिइयो। कार्यक्रममा नील हिरा समाजकी उपाध्यक्ष सिम्रन शेरचन, प्रतिनिधि भूमिका श्रेष्ठ, सुदूरपश्चिम समाजका अध्यक्ष निरङ्ग चौधरी, एसपी बल नरसिंह राणालगायत प्रहरीको उपस्थिति थियो।











Discussion about this post