कैलाली। अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन शनिबार धनगढीमा सम्पन्न भएको छ। अधिवेशनले भक्त राज जोशीलाई सर्वसम्मत रूपमा प्रदेश अध्यक्षमा चयन गरेको छ।
सुदूरपश्चिम प्रदेश सरकारका भूमि, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा प्रमुख अतिथि रहेको कार्यक्रममा संघका केन्द्रीय सदस्य तथा अधिवेशन संयोजक वीरेन्द्र धामीको सभापतित्व रहेको थियो।
औपचारिक सत्रपछि जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राज कुमार सिंहले पत्रकारहरूलाई साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण प्रदान गर्नुभएको थियो। उक्त अभिमुखीकरण कार्यक्रममा अनलाइन पत्रकारितामा साइबर सुरक्षाको महत्त्व र चुनौतीबारे गहन छलफल भएको थियो।
अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। जसमा भक्त राज जोशी अध्यक्ष, अंकित उप्रेती वरिष्ठ उपाध्यक्ष, खेम राज जोशी उपाध्यक्ष, टीकाराम साउद महासचिव, माधव पौडेल सचिव र सरिता चन्द कोषाध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै, गोविन्द सोडारी, कालुराम चौधरी र सञ्जु महर सदस्यमा चुनिएका छन्।
त्यसैगरी कञ्चनपुर जिल्लाको संयोजकमा प्रकाश भट्ट र कैलालीको संयोजकमा दीपक रावल चयन भएका छन्।
अधिवेशन संयोजक वीरेन्द्र धामीले नयाँ समितिले सुदूरपश्चिममा अनलाइन पत्रकारिताको विकास, पत्रकारहरूको हित र पेशागत मर्यादाका लागि महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। साथै उहाँले अधिवेशनको सफलताका लागि सबैको सहयोगप्रति कृतज्ञता समेत प्रकट गर्नुभएको छ।
नवनिर्वाचित अध्यक्ष भक्त राज जोशीले अनलाइन पत्रकारितालाई जिम्मेवार, विश्वसनीय र व्यवस्थित बनाउन आफ्नो टिम प्रतिबद्ध रहेको बताउनुभयो। “पत्रकारहरूको क्षमता अभिवृद्धि, साइबर सुरक्षामा जोड र पेशागत हकहितका लागि निरन्तर काम गर्नेछौँ,” उनले भने, “सुदूरपश्चिमको पत्रकारितालाई नयाँ उचाइमा पुर्याउन हाम्रो प्रयास रहनेछ।”
कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट पत्रकार, सञ्चारकर्मी र स्थानीय अगुवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। अधिवेशनले अनलाइन पत्रकारिताको भविष्य र चुनौतीबारे समेत गहन विमर्श गरेको थियो।










Discussion about this post