काठमाण्डाै – केन्द्रीय सुरक्षा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थल सीमा नाकामा सुरक्षा निगरानी बढाउने निर्णय गरेको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेकाे बैठकले भारत–पाकिस्तानबीचकाे तनावलाई मध्यनजर गर्दै विमानस्थल र सीमा नाकामा सुरक्षाा निगरानी बढाउने निर्णय गरेकाे हाे ।
देशमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने, सुरक्षा संयन्त्रलाई उच्च सर्तक अवस्थामा राख्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बताउनुभयो ।
भारत र पाकिस्तानमा सिर्जना भएको तनावपछि विकसित घटनाक्रम र त्यसले नेपाललाई पार्नसक्ने प्रभाव, सम्भावित चुनौती र भारत र पाकिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा पनि बैठकमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।
‘आन्तरिक सुरक्षातर्फ गर्नुपर्ने थप तयारी, समन्वय र सूचना आदानप्रदानलगायतका विषयमा कुराकानी भएको छ’, प्रवक्ता तिवारीले भन्नुभयो, ‘सीमा नाकादेखि विमानस्थलसम्मको सुरक्षा व्यवस्थामा विशेष निगरानीसहित चुस्त/दुरुस्त बनाउने, राष्ट्रिय तथा आन्तरिक सुरक्षा व्यवस्था सुनिश्चित तुल्याउने, सम्भावित चुनौतीको सामना गर्नेलगायत समसामयिक विषयमा बैठकमा छलफल भएको छ ।’ उज्यालो अनलाइन बाट साभार
Discussion about this post