कञ्चनपुर – नेपाल वाङ्मय परिषद् धनगढी, कैलालीको आयोजनामा स्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। शनिबार परिषद्का अध्यक्ष डा. पुष्करराज भट्टको सभापतित्व, सचिवालय सदस्य भुवन बोहराको सञ्चालन र पूर्वमन्त्री तथा साहित्यकार शान्ता मानवीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रका विशिष्ट प्रतिभाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा पूर्वमन्त्री तारिणीदत्त चटौत, वरिष्ठ साहित्यकार आरडी प्रभास चटौत, भाषा आयोगका माननीय सदस्य सुरेश मानन्धर, साझा प्रकाशनका सञ्चालक सदस्य मनोहर लामिछाने विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै, वरिष्ठ साहित्यकारहरू तेजप्रकाश श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, प्रखर स्रष्टा सुभाषचन्द्र भण्डारी र राजलक्ष्मी चटौत अतिथिका रूपमा सहभागी थिए। संस्थाका कोषाध्यक्ष तिलकबहादुर सिंहले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रमको मुख्य आकर्षण वरिष्ठ साहित्यकार आरडी प्रभास चटौत र राजलक्ष्मी चटौतद्वारा संकलित ‘सुदूरपश्चिमेली लोकगीत’ कृतिको विमोचन थियो। साझा प्रकाशनद्वारा प्रकाशित उक्त कृतिको विमोचन प्रमुख अतिथि, विशिष्ट अतिथि र मञ्चमा आसीन व्यक्तित्वहरूले संयुक्त रूपमा गरे। कृतिबारे प्रखर कवि तथा ग्लोबल कलेजका प्राध्यापक सुभाषचन्द्र भण्डारीले समीक्षात्मक मन्तव्य प्रस्तुत गरे।
कार्यक्रममा विभिन्न विधामा स्रष्टाहरूलाई सम्मान गरिएको थियो। वि.सं. २०८० का लागि गोपाल अश्कलाई नेपाली वाङ्मय साधना सम्मान, नवराज रिजाललाई पद्मा–रामचन्द्र लघुकथा सम्मान र राजेन्द्र तारकिणीलाई कर्मयोद्धा सृजना सम्मान प्रदान गरियो। त्यस्तै, वि.सं. २०८१ का लागि प्रा.डा. महादेव अवस्थीलाई आरडी प्रभास–राजलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार, प्रा.डा. कपिल लामिछानेलाई नेपाली वाङ्मय साधना सम्मान, ध्रुव मधिकर्मीलाई राधिका–गोपालदत्त लघुकथा सम्मान र मेघनाथ खनाल ‘बन्धु’लाई कर्मयोद्धा सृजना सम्मान प्रदान गरियो।
यसअघि नै घोषणा गरिएका राधिका–गोपालदत्त लघुकथा सम्मान २०८० डा. रामनिवास मानव र पद्मा–रामचन्द्र लघुकथा सम्मान २०८१ डा. हरिप्रसाद भण्डारीलाई प्रदान गर्ने निर्णय भएको थियो। तर, घरायसी कारणले उपस्थित हुन नसकेका यी स्रष्टाहरूलाई पछि विशेष कार्यक्रममार्फत सम्मान गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा प्रा.डा. महादेव अवस्थी, प्रा.डा. कपिल लामिछाने, ध्रुव मधिकर्मी, गोपाल अश्क, नवराज रिजाल, मनोहर लामिछाने, आरडी प्रभास चटौत र तारिणीदत्त चटौतले आ–आफ्नो मन्तव्य राखे। सत्या अधिकारी, मन्दिरा चापागाईं र मनिषकुमार शर्माले लघुकथा वाचन गरे भने सुभाषचन्द्र भण्डारीले कविता प्रस्तुत गरे।
प्रमुख अतिथि शान्ता मानवीले सुदूरपश्चिमबाट आएर राजधानीमा यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा परिषद् र अध्यक्ष डा. भट्टको प्रशंसा गरिन्। उनले ‘संसार बदल्ने कर्मशील मानिसले मात्र सक्छ’ भन्ने विचार व्यक्त गरिन्। कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिहरूलाई मायाको चिनो प्रदान गरियो। ६० जना स्रष्टाहरूको उपस्थितिमा सम्पन्न यो कार्यक्रमले सुदूरपश्चिमको साहित्यिक उन्नयनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकको भनाइ छ।










Discussion about this post