कञ्चनपुर । समाजवादका लागि साँस्कृतिक अभियान लिएर सामना साँस्कृतिक परिवारको कलाकार टोली कञ्चनपुर पुगेको छ। पूर्वी नेपालबाट सुरु भएको यो अभियान बिहीबार कञ्चनपुर आइपुगेको हो।
नेकपा विप्लव कञ्चनपुरका इन्चार्ज विष्णुप्रकाश उपाध्याय (बिराट)ले शनिबार महेन्द्रनगरमा विशेष साँस्कृतिक कार्यक्रम आयोजना हुने बताए। उनका अनुसार, जिल्ला पुगेको कलाकार टोलीले स्थानीय अवस्थाको अध्ययन गरी शनिबार बृहत् प्रस्तुति दिनेछ।
सामना साँस्कृतिक परिवारका कलाकार आरोह सीले तिन चरणमा आयोजना गरिएको यो अभियान देशका अन्य जिल्लाहरूमा सञ्चालन भई कञ्चनपुर पुगेको जानकारी दिए।
कञ्चनपुरबाट प्रस्तुति सकेर अन्य जिल्लाहरूमा कार्यक्रम गर्दै काठमाडौंमा पुगेर अभियान समापन गरिने उनले बताए। अभियानअन्तर्गत भ्रष्टाचारविरुद्ध र समाजवादका लागि गीत, नृत्य, कवितात्मक नाटक, ओपेरालगायत प्रस्तुत गरिनेछ। कार्यक्रम तीन चरणमा सञ्चालन गर्ने योजना छ।
सामना साँस्कृतिक परिवारका संस्थापक मणी थापाले समाजवाद निर्माणका लागि साँस्कृतिक कार्यक्रममार्फत जनचेतना जगाउन अभियान सञ्चालन गरिएको बताए। परिवारका वरिष्ठ कलाकार तथा नेकपा पोलिटब्यूरो सदस्य माइला लामाले समाजवादका लागि सबै कम्युनिस्ट शक्तिलाई एकजुट गराउन यो कार्यक्रम आयोजना गरिएको उल्लेख गरे।
आयोजकले शनिबारको बृहत् साँस्कृतिक कार्यक्रममा सहभागिताका लागि आम सर्वसाधारणलाई हार्दिक आह्वान गरेको छ।
Discussion about this post