कञ्चनपुर – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले ०८१ फागुन पहिलो सातादेखि १४ महिनासम्मको नेतृत्वमा उल्लेखनीय सफलता हासिल गरेका छन्। उनको कमान्डमा प्रहरीले फरार अभियुक्त पक्राउ, लागुऔषध तस्करी नियन्त्रण, भन्सार चोरी-छली रोकथामदेखि ठूला हत्याकाण्डको अनुसन्धानमा प्रभावकारी नतिजा देखाएको छ। हाल उनको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ।
जोशीको नेतृत्व विवादरहित र सरोकारवालासँग समन्वयकारी रहेको स्थानीयले मूल्यांकन गरेका छन्। कञ्चनपुर उद्योग वाणिज्य संघलगायतले उनको कार्यकालको प्रशंसा गर्दै विदाइको तयारी गरिरहेका छन्। जोशीले जहाँ भए पनि कानुनअनुसार इमानदारीपूर्वक काम गर्नुपर्ने बताएका छन्।
प्रहरीको तथ्यांकअनुसार, विभिन्न अपराधमा संलग्न १,२६५ फरार अभियुक्तमध्ये चालु आर्थिक वर्ष ०८१-०८२ को १० महिनामा ३९७ जना पक्राउ परेका छन्। आर्थिक वर्ष ०७९-०८० मा ९२, ०८०-०८१ मा २४५ र चालु वर्षको वैशाख दोस्रो सातासम्म ३९७ अभियुक्त पक्राउ गरिएको हो।
भन्सार चोरी-छली नियन्त्रणमा प्रहरीले गत आर्थिक वर्ष ०८०-०८१ मा ६ करोड ३७ लाख ८५ हजार ५१९ रुपैयाँ बराबरको सामान बरामद गरेको थियो। चालु आर्थिक वर्षको वैशाख दोस्रो सातासम्म ६ करोड १६ लाख ७४ हजार ४८७ रुपैयाँ बराबरको अवैध सामान बरामद भएको छ।
अवैध काठ तस्करीविरुद्ध चालु आर्थिक वर्षमा ३४३ क्युफिट काठ, ११ लाख ५५ हजार ६६० रुपैयाँ राजस्वसहित ६ सवारी साधन बरामद गरिएको छ। यस क्रममा ७ जना पक्राउ परेका छन्।
नदीजन्य पदार्थको अवैध ओसारपसारमा संलग्न ५२ ट्याक्टर र २ टिपरसहित ५२ सवारी साधन र ३४ जना पक्राउ गरिएको छ। यसबाट ९ लाख १०० रुपैयाँ राजस्व संकलन भएको छ।
लागुऔषध तस्करीविरुद्ध कडा कारबाही गर्दै गत आर्थिक वर्षमा ३२ महिला र २५५ पुरुषसहित २८७ जना पक्राउ परेका थिए। चालु वर्षको वैशाख दोस्रो सातासम्म ११ महिला र १८९ पुरुषसहित २०० जना पक्राउ परेका छन्। उनीहरूबाट ब्राउन सुगर, चरेश, गाँजा, एम्पुल र ट्याब्लेट बरामद गरिएको छ।
बन्यजन्तुको अवैध चोरी-शिकारमा संलग्न व्यक्तिहरूबाट चितुवाको छाला, जंगली जनावरको सिङ र बदेलको बंगजस्ता ओखेटोपहार बरामद गरिएको छ। यस्ता गतिविधिमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याइएको छ।
जुवातासविरुद्ध कारबाहीमा चालु आर्थिक वर्षमा १०७ जना पक्राउ गरी १२ लाख ३० हजार २९५ रुपैयाँ बरामद गरिएको छ। गत आर्थिक वर्षमा १०९ जुवाडे पक्राउ गरी ६ लाख ५० हजार ३०० रुपैयाँ बरामद भएको थियो।
बेचबिखनमा संलग्न चालु आर्थिक वर्षमा ४ महिला र ६ पुरुष पक्राउ परेका छन्। गत आर्थिक वर्षमा ५ महिला र ४ पुरुष पक्राउ परेका थिए।
ठूला हत्याकाण्डको अनुसन्धानमा प्रहरीले उल्लेखनीय सफलता हासिल गरेको छ। १३ मंसिर ०८१ मा बेलौरी-६ भुराकोटमा शियाराम रानाको हत्यामा संलग्न उनकी श्रीमती र एक भारतीय नागरिक पक्राउ परेका छन्। उनीहरू हाल कारागार चलान भएका छन्।
१५ मंसिर ०८१ मा भीमदत्त-८ तिलाचौरका पूर्वप्रहरी नरेन्द्र सिंह विष्टले श्रीमती ज्योती ठगुन्नाको हत्या गरेका थिए। उनलाई पक्राउ गरी कारबाही अघि बढाइएको छ।
८ कार्तिक ०८१ मा लालझाडी-१ बिनबारीका रमेश बडायक र कमला दम्पतीको हत्यामा संलग्न गंगाराम राना पक्राउ परेका छन्। उनलाई पुर्याएर जेल चलान गरिएको छ।
०७५ मा भीमदत्त-२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धान अझै जारी छ। यस्तै, बेलडाँडीका हरिकिसन राना र लालझाडीका रामरेशर राना हत्याकाण्डको अनुसन्धान पनि भइरहेको एसपी जोशीले बताए।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ५५९ पटक करिब १६,००० नागरिकलाई अभिमुखीकरण गरिएको छ। प्रहरीको आन्तरिक सुधारमा हिरासत मर्मत, पुस्तकालय स्थापना, वृक्षारोपण र मेलमिलाप चौतारीजस्ता कार्यक्रम सञ्चालन गरिएका छन्।
एसपी जोशीको नेतृत्वमा कञ्चनपुर प्रहरीले स्थानीय स्तरमा विश्वास आर्जन गरेको छ। उनको सरुवापछि पनि प्रहरीको यो सक्रियता कायम रहने अपेक्षा गरिएको छ।










Discussion about this post