कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सभाबाट स्थानीय सेवा ऐन जारी गर्न माग राख्दै प्रदेशमा कार्यरत विभिन्न कर्मचारी सङ्घ–सङ्गठनहरूले मुख्यमन्त्री कमल बहादुर शाहलाई ज्ञापन पत्र बुझाएका छन्। बिहीबार सात निजामती कर्मचारी सङ्गठनहरूले संयुक्त रूपमा मुख्यमन्त्रीलाई यो मागसहितको ज्ञापन पत्र पेस गरेका हुन्।
नेपाल निजामती कर्मचारी सङ्गठन सुदूरपश्चिम प्रदेशका अध्यक्ष महादेव जोशीले सात वटा कर्मचारी सङ्गठनहरूको संयुक्त पहलमा मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र बुझाइएको जानकारी दिए। सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशहरूमा स्थानीय सेवा ऐन र नियमावली जारी भइसकेको अवस्थामा यहाँ ढिलाइ भइरहेको भन्दै कर्मचारी सङ्गठनहरूले ऐन पारित गर्न दबाब दिएका छन्। उनीहरूले यो माग पूरा नभए सडक आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत दिएका छन्।
ज्ञापन पत्रमा निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन कैलालीका अध्यक्ष विमल प्रकाश जोशी, एकीकृत सरकारी कर्मचारी सङ्गठनका केन्द्रीय उपाध्यक्ष जयदेव जोशी, नेपाल निजामती कर्मचारी सङ्गठन सुदूरपश्चिम प्रदेशका अध्यक्ष महादेव जोशी, नेपाल निजामती कर्मचारी युनियन प्रदेश अध्यक्ष धर्म बहादुर देउवा, एकीकृत सरकारी कर्मचारी सङ्गठन प्रदेश अध्यक्ष जनकराज जोशी, नेपाल निजामती कर्मचारी युनियन कैलाली अध्यक्ष खेमराज जोशी र नेपाल निजामती कर्मचारी सङ्गठन कञ्चनपुर अध्यक्ष मान बहादुर चन्दले हस्ताक्षर गरेका छन्। उक्त ज्ञापन पत्रमा प्रदेश सभामा दर्ता भएको विधेयक यथाशीघ्र कार्यान्वयन गरी स्थानीय तहका कर्मचारीहरूको वृद्धि–विकासमा जोड दिन माग गरिएको छ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री कमल बहादुर शाहले स्थानीय सेवा ऐन पारित गर्ने विषयमा प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। कर्मचारी सङ्गठनहरूले यो प्रतिबद्धताको कार्यान्वयनलाई नजिकबाट नियाल्ने बताएका छन्।









Discussion about this post