कञ्चनपुर — मानवता, करुणा र सकारात्मक परिवर्तनको सपना बोकेर अघि बढिरहेका १७ वर्षीय अङ्कित जोशी आज सयौँ युवाहरूका लागि प्रेरणाको उज्यालो किरण बनेका छन्। सुदूरपश्चिमको कञ्चनपुर जिल्लास्थित महेन्द्रनगरमा जन्मिएर हुर्किएका अङ्कितको सोच र कर्म कुनै भौगोलिक सीमाले बाँधिएको छैन। उनको लक्ष्य समाजको हरेक कुनामा सेवा पुर्याउनु र सकारात्मक परिवर्तनको आधार तयार गर्नु हो। सानै उमेरमा ठुलो सपना बोकेर अघि बढेका अङ्कितले आफ्नो कर्मले प्रमाणित गरेका छन् कि परिवर्तनका लागि ठुलो उमेर वा अथाह स्रोत होइन, केवल इमानदार मन र अटल सङ्कल्प चाहिन्छ।

अङ्कितको सामाजिक सेवाको यात्रा त्यस दिनबाट सुरु भएको थियो, जुन दिन उनले समाजको कठोर यथार्थलाई नजिकबाट देखे। वृद्धाश्रममा आफ्नो परिवारबाट टाढिएर एक्लो जीवन बिताइरहेका बुढापाकाहरूको आँखामा बगेको आँसु, अनाथ बालबालिकाको मौन पीडाले भरिएको अनुहार, र विपन्न वर्गको उपेक्षित जीवनको कथा—यी सबै दृश्यले उनको मनमा गहिरो चोट पुर्यायो। तर, उनले ती पीडालाई केवल आँसुमा सीमित गरेनन्। बरु, उनले आफ्नो मनको कमजोरीलाई शक्तिमा बदले र समाजमा केही गर्ने सङ्कल्प लिए। “मैले दुःख देखेँ, त्यसलाई महसुस गरेँ, र मनमनै सोचेँ—मैले केही गर्नुपर्छ,” अङ्कितले आफ्नो सुरुवाती दिन सम्झँदै भने। यो सङ्कल्प नै उनको जीवनको टर्निङ प्वाइन्ट बन्यो।

अङ्कित आज एक्लै होइनन्, उनले आफ्नो सपनालाई एउटा ठुलो अभियानको रूप दिएका छन्। “पावर अफ युथ” नामक सामाजिक अभियानको नेतृत्व गर्दै उनले सयौँ युवाहरूलाई समाजसेवाको बाटोमा जोडेका छन्। यो अभियानले विभिन्न सामाजिक कार्यहरू मार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गरिरहेको छ। गाउँ-सहरका फोहोर सडकहरूको सफाइ अभियान, बाढी-पहिरोजस्ता प्राकृतिक प्रकोपमा राहत वितरण, वृद्धाश्रम र अनाथालयमा सहयोग र भ्रमण, शैक्षिक सामग्री वितरणदेखि लिएर जनचेतना फैलाउने कार्यक्रमसम्म—अङ्कितको नेतृत्वमा युवाहरू अहोरात्र खटिरहेका छन्।

यो अभियानको मूल मन्त्र नै अङ्कितको जीवन दर्शनमा आधारित छ। उनी भन्छन्, “परिवर्तन उमेरले होइन, सोच र कर्मले सम्भव हुन्छ। जब युवाले देश र समाजलाई आफ्नो जिम्मेवारी ठान्न थाल्छन्, तब मात्र समाजले उज्यालोको बाटो देख्न सक्छ।” उनको यो विश्वासले युवाहरूलाई नयाँ सोच र ऊर्जा दिएको छ।
अङ्कित जोशी बुवा रामदत्त जोशी र आमा कलावती देवी जोशीका सुपुत्र हुन्। उनको परिवारले उनको हरेक कदममा साथ दिएको छ। खास गरी उनका दाजु अर्पित जोशी उनको जीवनमा प्रेरणाको ठुलो स्रोत बनेका छन्। “दाजुको विश्वास र हौसलाले मलाई कहिल्यै हार नमान्ने बानी बसाल्यो,” अङ्कित भन्छन्। उनको शैक्षिक यात्रा पनि उत्तिकै प्रभावशाली छ। उनले ग्लोबल एकेडेमी सेकेण्डरी स्कुलबाट एसइई उत्तीर्ण गरेका थिए र अहिले सार्क एजुकेसन फाउन्डेसनमा ‘प्लस टु’ मा व्यवस्थापन सङ्काय अध्ययन गरिरहेका छन्। पढाइ र समाजसेवालाई सँगसँगै अघि बढाउनु उनको अर्को विशेषता हो। “पढाइले ज्ञान दिन्छ, तर समाजसेवाले जीवनको वास्तविक अर्थ बुझाउँछ,” उनी भन्छन्।

अङ्कितको कामको प्रभाव अब महेन्द्रनगरको सानो क्षेत्रमा मात्र सीमित छैन। उनको अभियानले सुदूरपश्चिमका विभिन्न गाउँ र सहरहरूमा पनि चर्चा पाउन थालेको छ। उनले सुरु गरेको सफाइ अभियानले स्थानीय बासिन्दालाई पनि आफ्नो वरपरको वातावरण सफा राख्न प्रेरित गरेको छ। त्यस्तै, उनको टिमले वृद्धाश्रममा बिताएका पलहरूले त्यहाँका बुढापाकाहरूमा नयाँ आशा जगाएको छ। “हामीलाई लाग्थ्यो, हामीलाई कसैले वास्ता गर्दैन। तर अङ्कित र उनको टिमले हामीलाई परिवारको जस्तो माया दिए,” एक वृद्धाश्रमका बासिन्दाले भावुक हुँदै भने।
अङ्कित जोशीको केवल एक यस्ता युवा हुन् जसले हरेक व्यक्तिलाई आफ्नो जिम्मेवारीप्रति सचेत गराउँछ। उनको यो यात्राले यो पनि देखाउँछ कि सानो उमेर र सीमित स्रोतले सपनालाई रोक्न सक्दैन, यदि मनमा करुणा र कर्ममा लगनशीलता छ भने। उनी भन्छन्, “मेरो सपना ठुलो होइन, तर यो सानो पनि छैन। म चाहन्छु कि हरेक गाउँ, हरेक टोलमा एउटा यस्तो युवा होस्, जसले समाजलाई हेरोस् र केही गरोस्।”
