कञ्चनपुर – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को विश्व कीर्तिमान रचेर नेपालको नाम विश्वभर चम्काएका छन्। हङकङमा जारी चारदेशीय टी–२० शृङ्खलाअन्तर्गत कुवेतविरुद्धको खेलमा उनले यो ऐतिहासिक उपलब्धि हासिल गरेका हुन्।
दीपेन्द्रले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै इनिङ्स विना ‘डक’ (शून्यमा आउट नहुने) कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। उनले हालसम्म ७६ खेलमा लगातार ६६ इनिङ्ससम्म शून्यमा आउट नहुने रेकर्ड बनाएका छन्। यो कीर्तिमानसँगै उनले वेस्ट इन्डिजका मार्लोन स्याम्युल्सलाई पछि पारेका छन्, जसले लगातार ६५ इनिङ्ससम्म डक आउट नहुने रेकर्ड बनाएका थिए।
कुवेतविरुद्धको उक्त खेलमा नेपालले ६ विकेटको शानदार जित हासिल गरेको थियो। दीपेन्द्रको यो कीर्तिमानले खेलमा उनको निरन्तरता र उत्कृष्ट प्रदर्शनको प्रमाण दिएको छ।
यसअघि पनि दीपेन्द्रले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा थुप्रै कीर्तिमान बनाइसकेका छन्। उनले मात्र ९ बलमा अर्धशतक बनाएर सबैभन्दा छिटो अर्धशतकको विश्व कीर्तिमान कायम गरेका छन्। त्यस्तै, एकै ओभरमा ६ छक्का प्रहार गर्ने विश्वका सीमित खेलाडीमध्ये उनी एक हुन्।
दीपेन्द्रको यो उपलब्धिले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मञ्चमा थप उचाइ प्रदान गरेको छ। उनको यो सफलताले युवा खेलाडीहरूलाई समेत प्रेरणा दिइरहेको छ।









Discussion about this post