कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ५ मा अवस्थित जगदम्बा एकेडेमी इङ्गलिश बोर्डिङ्गले आफ्नो १४ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। बुधवार सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलदेव धामीको सभापतित्व रहेको थियो भने वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशी प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रमको प्रारम्भ विद्यालयका सह प्रधानाध्यापक भागरथी जोशीको स्वागत मन्तव्यबाट भएको थियो। त्यसपछि विद्यालयका प्रधानाध्यापक दिपेन्द्र सिहं कुँवरले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा ३९५ जना विद्यार्थी रहेको जानकारी गराए। उनले विद्यालयले गरिब, जेहेन्दार, जनजाति तथा अनाथ ६६ जना बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको बताए।
![Mahakali Polytechnic](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/08/Mahakali.gif)
कार्यक्रममा विशिष्ट अतिथि एवम् वेदकोट नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष चित्रदेव भट्टले विद्यालयले गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क पढाउने कार्य प्रशंसनीय रहेको बताउँदै शिक्षा कुनै पनि बालबालिकाले गुमाउन नपर्ने वातावरण निर्माण गर्नु आवश्यक रहेकोमा जोड दिए।
![Sana Kishan](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/12/sana-kisaan-dec-24.gif)
विद्यालयले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रमलाई थप आकर्षक बनाउन विभिन्न सांस्कृतिक कार्यक्रम, अतिरिक्त गतिविधि तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।
उक्त कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीयबासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
![Dirghayu Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/Dirghayu.gif)