यहाँ सधैँ उज्यालोको कथा सुन्न पाउँ।
शिर ठाडो उठाएका गाथा भन्न पाउँ ।
कहाँ लग्छ जिन्दगीले थाहा छैन तर,
मर्दा यही माटोमा नै माथा टेक्न पाउँ ।
सत्यलाई झल्काउने प्रमाण जस्तै छ ।
हो नचिन्नेका लागि तिखो बाण जस्तै छ ।
देश नराम्रो भनी नरुवाऊ मलाई ।
मेरा लागि यो देश मेरो प्राण जस्तै छ ।
देशका कुना कुनामा वीरता छ यहाँ ।
कयौँ जाती धर्मबिच एकता छ यहाँ ।
कोपिला नै निमोठ्नेले के छ भनी सोध्छ,
ढुङ्गा, माटो, हावामा नि ममता छ यहाँ ।
“उच्च पद के हो?” सोध्दा, किसान भन्ने छु ।
पुर्खाले नै सिकाएको, विज्ञान भन्ने छु ।
जति गाउँ महिमा अरू देशका तर,
म त सधैँ मेरै देश महान् भन्ने छु ।
![Mahakali Polytechnic](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/08/Mahakali.gif)
हुन नदिनेहरूमा सवाल राख्ने छु ।
मेरो खबरमा देशको हाल राख्ने छु ।
म हुँदै नसोच देश मेटाउँछु भनी,
मेटिँदैन मेरै नाम ‘नेपाल’ राख्ने छु ।
बबिता कार्की
कञ्चनपुर
![Dirghayu Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/Dirghayu.gif)