कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका -१२ मा रहेको हरिहर घाटमा माघे सङ्क्रान्ति मेला अर्थात् मकर मेलाको आयोजना हुने भएको छ।उक्त क्षेत्रलाई धार्मिक स्थलका रूपमा परिचित गराउनका लागि महाकाली नदीमा बनेको चार लेन पुल नजिकै रहेको हरिहर घाटमा पौष मसान्त देखी माघ १ गते सम्म मकर मेला आयोजना हुन लागेको हो ।
पौष मसान्त देखी पूजनसहित मेला तथा महास्नान प्रारम्भ हुने श्री बैजनाथ सिद्धनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवी भारतीले जानकारी दिएका छन्। महाकाली नदीस्थित हरिहर घाटलाई तीर्थस्थलका रूपमा विकास गर्न विगत देखी नै मेलाको आयोजना गर्दै आएको र यस वर्षमा पनि आफूहरूले उक्त क्षेत्रमा मेलाको आयोजना गर्न लागेको उनले बताएका छन्।
यसले यहाँको धार्मिक, सांस्कृतिक पहिचान हुनेछ र महर्षि वेद व्यासद्वारा कुवेरको वाजपेय यज्ञका लागि देवदारु वनको व्यासाश्रमबाट आएर लिपिपवर्तमा वैकुण्ठ लोकमा मन्दाकिनी गङ्गाको प्रार्थना गरेर प्रकट गरेको हुनाले महाकाली नदी प्रसिद्ध तीर्थस्थल रहेको बताए।
यहाँ सिद्धनाथ बैजनाथको भूमि भएकाले पनि यो ठाउँ तीर्थस्थलका लागि प्रसिद्ध रहेको र देव मानसी गङ्गाका दुई धारमध्ये एक धार महाकाली नदी र अर्को धार कर्णालीको उत्पत्ति कैलाशमान सरोवर भएकाले स्कन्दपुराणमा महाकाली नदीको पौराणिक महत्त्व रहेको बताए।
“मानसखण्ड पुराणमा महाकाली नदीको पौराणिक महत्त्व रहेकाले यहाँ स्नान गर्नु उत्तम छ”, उनले भने ‘यो क्षेत्रलाई धार्मिक पर्यटनका हिसाबले पनि विकास गर्न मेला महत्त्वपूर्ण छ। अहिले महाकाली नदीमा चार लनेको पुल बनेसँगै यहाँ पर्यटकहरू आउने क्रम बढेको छ।‘
यसलाई धार्मिक पर्यटनका हिसाबले पनि विकास गर्न सके यहाँको पर्यटन व्यवसाय फस्टाउने भीमदत्त नगरपालिका १२ का वडा अध्यक्ष भूपेन्द्र सिंह रावलले बताए। आफूहरूले विगतमा पनि आर्थिक सहयोग गरेको र यो वर्षमा पनि वडाबाट बिजुली बत्ती, चियापान लगायतको क्षेत्रमा पनि सहयोग गरिरहेको बताए।









Discussion about this post