कञ्चनपुर । पश्चिम नेपालका थारु समुदायको लोक संस्कृति संरक्षणका लागि कञ्चनपुरको बेलौरीमा माघ मेला सञ्चालन हुने भएको छ । बेलौरी नगर भल मन्सा समितिको आयोजनामा २६ पुसदेखि माघ मेला ०८१ सञ्चालन हुने भएको हो ।
नगर भल मन्सा समितिले बेलौरी नगरपालिकाको प्रवर्द्धनमा आउँदो शुक्रवारदेखि खुला मञ्चमा माघ मेला सञ्चालन गर्न लागेको जनाएको छ ।
तराई सहित देशका २२ जिल्लाहरूमा बसोबास गर्दै थारु समुदायको लोक संस्कृति, परम्परा लोप भइरहेको अवस्थामा संस्कृति संरक्षणका लागि तीन दिने मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । बेलौरी नगर भल मन्साका अगुवा तथा मेला आयोजक समितिका प्रचारप्रसार समिति संयोजक कृष्ण गम्वा (चौधरी)ले आउँदै लागेको माघ महिना १ गतेदेखि थारु समुदायको माघी कार्यक्रम पुर्व माघ मेला सञ्चालन गर्न लागेको बताए । उनका अनुसार मेलाको तयारी तीव्र रूपमा अघि बढेको जनाएको छ ।
मेलाको उद्घाटन पूर्व खानेपानी मन्त्री एवम् माओवादी नेतृ बिना मगरकै प्रमुख आतिथ्यमा हुने छ । ०७८ सालमा बेलौरी नगरपालिकाले भल मन्सा ऐन पारित गरेको उत्सवमा थारु समुदायको लोक संस्कृति, परम्परा संरक्षण प्रवर्द्धन एवम् पहिचानका लागि मेला सञ्चालन गर्न लागेको बताए । उनका अनुसार ३० स्टल रहने मेलामा थारु समुदायकै लोक परम्परागत खाने परिकार, कला, धर्म, संस्कृति, सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछन् ।
थारु समुदायको लोक परम्परागत खाने परिवारदेखिका सांस्कृतिक कार्यक्रमले पनि नयाँ पुस्तामा सञ्चारिकरण हुनेछ । उद्घाटनकै दिन बेलौरी नगरका प्राद्याध्यापक, डाक्टर, ०७४देखि ०७९सम्म निर्वाचित आदिवासी जनजाति थारु समुदायका जनप्रतिनिधिलाई सम्मान, रक्तदान, नगरका सबै राष्ट्रिय खेलाडीलाई सम्मान सहितका विविध सामाजिक कार्यक्रम समेत गरिनेछ । सांस्कृतिक कार्यक्रममा विभिन्न गाउँ बस्तीका थारु समुदायको लोक सांस्कृतिक झल्किने नृत्य, स्थानीय एव राष्ट्रिय कलाकारबाट थारु समुदायको सांस्कृतिक प्रवर्द्धन क्षेत्रमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछन् ।
‘दशक अघिदेखि हामीले बेलौरी खुला मञ्चमा घरमा सीमित रहेको हाम्रो कला संस्कृति मञ्चमा ल्याएर प्रस्तुत गर्न लागेका छौँ, ‘उनले भने, ‘अहिलेसम्म भएका साँस्कृतिक कार्यक्रमले समेत पुस्ता हस्तान्तरण गरेको पाइन्छ ।’ उनका अनुसार ०६८ सालमा थारु ओरल्ड अराउण्ड, ०७१ सालमा मोहराइन, ०७३ देखि थारु कल्याण कारिणी सभा र अहिले भल मन्सा ऐन पारित भएर कार्यान्वयनको अवस्थामा भल मन्सा समितिले नै मेला आयोजना गर्न लागेको छ । मेला सम्पन्न गर्नका लागि बेलौरी नगर भल मन्सा समितिका अध्यक्ष अमर सिंह चौधरीको संयोजकत्वमा मूल समिति एवम् उप समितिहरू गठन गरिएको छ ।
सचिवालयमा भल मन्सा समेत रहेका लाल बहादुर चौधरी, आर्थिक व्यवस्थापन समितिमा गुरु प्रसाद चौधरी, मञ्च व्यवस्थापनमा लक्ष्मण चौधरी, सुरक्षा व्यवस्थापनमा बजारे चौधरी, स्वागत तथा सम्मान व्यवस्थापनमा रत्ना चौधरी, सांस्कृतिक तथ्य झाँगी व्यवस्थापनमा विक्रम चौधरी, कलाकार व्यवस्थापनमा कृष्ण चौधरी, प्रचारप्रसार तथा स्वास्थ्यमा कृष्ण गम्का (चौधरी), मेस सञ्चालनमा सन्तराम चौधरीको संयोजकत्वमा उप समिति गठन गरिएको छ । सल्लाहकार तर्फ बेलौरी नगरकै प्रमुख पोतिलाल चौधरी, सदस्यमा उपप्रमुख जोगराज चौधरी, निवर्तमान उपप्रमुख चित्रा कुमारी चौधरी, सुनिता चौधरी, खडक चौधरी, लक्ष्छु राना र सुन्दरलाल चौधरी रहेका छन् ।
बेलौरी नगर भल मन्सा समितिका अध्यक्ष एव मेला मूल आयोजक समितिका संयोजक अमर सिंह रानाले पछिल्ला बर्सहरूमा आधुनिकतासँगै थारु समुदायको लोक परम्परा, कला संस्कृति, प्रवर्द्धनका लागि मेला आयोजना गरिएको बताए । ‘बेलौरी नगरपालिका स्थानीय सरकारले समेत हामी थारु समुदायको भलमन्सालाई ऐन नै पारित गरेर कार्यान्वयन गरेको छ, ‘उनले भने, ‘यो निकै स्वागत योग्य कदन पनि हो, यसमा हामीले गर्व गरेका छौँ ।’
उनले देशका विभिन्न थारु बाहुल्य जिल्ला एव पालिका सरकारले ऐन नै नबनाएको बनाएको ऐन पनि कार्यान्वयन नगरेको अवस्थामा बेलौरी स्थानीय सरकारले आफूहरूलाई दिएको राजनैतिक हक अधिकारको सदुपयोग गर्दै सामाजिक एकताका लागि समेत मेला मियो बन्ने बताए । उनले ०७८ सालमा स्थानीय सरकारले भल मन्सा ऐन ल्याएसँगै गाउँ गाउँमा रहेका थारु समुदाय उत्साहित भएको बताए ।
मेला मूल आयोजक समितिका सचिवालय संयोजक लाल बहादुर चौधरीले पछिल्ला बर्सहरूमा विदेशी संस्कृतिले नेपाली समाजमा जरा गाडिरहेको थारु समुदायको माघ मेलाले चिर्ने बताए । उनले सामूहिक रूपमा विभिन्न गाउँबस्तीबाट आउने सांस्कृतिक झाँगी कार्यक्रमले समेत विदेशी संस्कृति चिर्ने बताए । तीन दिनसम्म सञ्चालन हुने मेला अवलोकनका लागि निःशुल्क व्यवस्था गरिएको छ । पश्चिम नेपालका थारु समुदायको लोक संस्कृति संरक्षणमा कार्यक्रमले प्रवर्द्धन गर्ने आयोजकको अपेक्षा छ । उक्त माघ बेलाको हजारौँ दर्शकले अवलोकन गर्ने दाबी गरिएको छ ।









Discussion about this post